काठमाडौं- दक्षिण कोरियाली बहुराष्ट्रिय फास्ट फुड तथा रेस्टुरेन्ट लोट्टेरियाको फ्रेन्चाइज अब नेपालमा संचालनमा आउने भएको छ।
नेपालमा सो रेस्टुरेन्ट संचालन गर्न लोट्टे जीआरएस र हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता भएको छ। मंगलबार काठमाडौंस्थित होटेल याक एन्ड यतिमा आयोजित एक कार्यक्रममा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा दुवै कम्पनीका प्रमुखबीच व्यावसायिक सम्झौता भएको हो।
सम्झौताको लागि दक्षिण कोरियाबाट लोट्टेका ग्लोबल सीइओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल सोमबार काठमाडौं आएका थिए।
४० वर्षदेखि संचालित लोट्टेरियाले हाल दक्षिण कोरियासहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मङ्गोलिया र लाओसलगायतका देशहरुमा १६ सयभन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट सन्चालन गरिरहेको छ। रेष्टुरेन्ट फ्रेन्चाइज बिजनेसमा ग्लोबल लिडरका रुपमा दाबी गर्ने लोट्टेरिया चिकेन र बर्गरको लागि विश्वप्रख्यात छ।
लगानी र पर्यटन प्रवद्र्धनको लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय बहुराष्ट्रिय कम्पनीहरु नेपाली बजारमा लगानीको लागि आकर्षित हुँदै गईरहेका छन्। यसै समयमा लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आकर्षण गर्ने दाबी हिमालय एनकेका अध्यक्ष बिनोद कुँवरको छ।
दक्षिण कोरियाको विकास, आधुनिकीकरण र अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको लोट्टे समुहको नेपाल प्रवेशले नेपालको समृद्धिमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा कुँवरले गरेका छन्।
विश्वव्यापीकरणको प्रभावसँगै नयाँ खालका खानपान र संस्कृति नेपालमा समेत विकास हुँदै गएकोले यो क्षेत्रमा सहजै व्यावसायिक सफलता हासिल गर्ने कुरामा विश्वस्त रहेको हिमालयका वैदेशिक लगानी साझेदार ली चबसबले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।