काठमाडौं- लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ।
विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक बर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ।
'स्वास्थ्यका लागि न्याय, न्यायका लागि स्वास्थ' भन्ने नारासहित यो दिवस आज विश्वभर मनाइँदै छ। नेपालमा भने 'समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वास्थ्य जीवन' भन्ने नारा गरिएको छ। दिवसका अवसरमा विविध जनचेतनामुलुक कार्यक्रम गरिएको छ।
यसै सन्दर्भमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा नै जनचेतनामुलक नाटक प्रस्तुत गरियो।
महाशाखाले दिवसको सन्दर्भमा लागुऔषध दुरुपयोग सम्बन्धमा जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो। कार्यक्रमअघि आजै बिहान जनचेतनामुलक प्रभातफेरी पनि गरिएको थियो।
भृकुटीमण्डपदेखि सुरु भएको चेतनामुलुक र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, शान्ति बाटीका हुँदै राष्ट्रिय सभागृह पुगेको थियो। र्यालीमा लागुऔषधको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधरणको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।