एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझै पनि चीनले उत्तर कोरियालाई पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको घटनाले आफू निराश भएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरिरहेको चीनलाई ‘रंगेहात’ फेला परेको उल्लेख गरेका छन्। ट्विटमा उनले चीनको यस्तो कामले उत्तर कोरियासँगको समस्याको मैत्रीपूर्ण समाधान ननिस्कने उल्लेख गरेका छन्।
दक्षिण कोरियाली अखबार चोसुन आइबोले चिनियाँ तेल ट्यांकरहरूले समुद्रमा गोप्य रूपमा उत्तर कोरियाली तेल ट्यांकरमा पेट्रोलियम स्थानान्तरण गरिरहेको समाचार प्रकाशन गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो।
चीनले यसअघि संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि तेल आपूर्तिमा लगाइएको प्रतिबन्ध आफूले उल्लंघन नगरेको दाबी गर्दै आएको थियो।
गत साता उत्तर कोरियालाई आपूर्ति हुने पेट्रोलियम पदार्थको ९० प्रतिशत कटौतीका लागि अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा चीनले समर्थन गरेको थियो।
अखबारले दक्षिण कोरियाली अधिकारीहरूलाई उदृत गर्दै चिनियाँ ट्यांकरबाट उत्तर कोरियाली ट्यांकरमा अवैध रुपमा तेल स्थानान्तरण गरिएको उल्लेख गरेको थियो।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार गत अक्टोबरयता अमेरिकी जासुसी भूउपग्रहहरूले चिनियाँ ट्यांकरले यसरी अवैध रूपमा उत्तर कोरियाली ट्यांकरमा ३० पटकभन्दा बढी तेल स्थानान्तरण गरिरहेको भिडियो बनाएका छन्।
तर, अमेरिकी अधिकारीहरूले यसको पुष्टि नगरे पनि विदेश मन्त्रालयका एक अधिकारीले रोयटर्ससँग तेल स्थानान्तरण अहिले पनि भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।
ती अधिकारीले यसरी उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गर्नु राष्ट्र संघीय प्रतिबन्धको उल्लंघन भएको बताए।
उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले राष्ट्र संघद्वारा उत्तर कोरियामाथि लगाइएका सबै प्रतिबन्धसम्बन्धी निर्णयको आफूले पालना गरिरहेको दोहोर्याउँदै आएको छ।
ट्यांकरबाट अर्को ट्यांकरमा पेट्रोलियम स्थानान्तरणबारे चीनको रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओचियाङले पत्रकारहरूसँग भने, ‘तपाईंहरूले उल्लेख गरेको कुरा हल्ला मात्र हो, यस्तो भएकै छैन।’
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल क्याभीले सबै देशसँग उत्तर कोरियासँग आर्थिक सम्बन्ध तोड्ने आग्रह फेरि दोहोर्याएका छन्।
राष्ट्र संघको सुरक्षा परिषद्ले बिहीबार मात्र ४ वटा उत्तर कोरियाली पानीजहाजलाई प्रतिबन्धित वस्तु बोकेको आशंकामा अन्तर्राष्ट्रिय बन्दरगाहमा पहुँच दिन अस्विकार गरेको थियो।
उत्तर कोरियामाथि राष्ट्र संघ, अमेरिका र युरोपेली संघले प्रतिबन्ध लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।