एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बइको कमला मिल्स रेस्टोरेन्ट एन्ड सपिङ कम्प्लेक्समा बिहीबार मध्यरातमा भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।
करिब मध्यरातमा कम्प्लेक्सको छतमा रहेको रेस्टोरेन्टबाट लागेको आगोले ३० मिनेटमा नै कम्प्लेक्सको ठूलो हिस्सालाई खरानी पारेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
मुम्बइको विपद् व्यवस्थापन विभागले ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ। अस्पतालका डाक्टरहरूले मृतक सबैको निसास्सिएर मृत्यु भएको बताएका छन्।
आगो लागेपछि बाथरुममा शरण लिएकाहरू निस्कन नसकेर फसेका थिए। कम्प्लेक्समा रहेका टाइम्स नाऊ, मिरर नाऊ र इटी नाउलगायत विभिन्न सञ्चार माध्यमका कार्यालयमा पनि आगलागीबाट क्षति भएका छन्।
मृतक मध्ये रेस्टोरेन्टमा भइरहेको पार्टीमा सामेल महिलाहरू बढी रहेको बताइएको छ। जन्मदिन मनाइरहेकी एक २८ वर्षीया महिलाको पनि आगलागीमा मृत्यु भएको उनका हजुरबुबाले बताएका छन्।
कमला मिल्समा कैयौं रेस्टोरेन्ट, बार र कार्यालयहरू छन्। प्रहरीले आगलागीबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सामाजिक सञ्जाल ट्विटरमा मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।