वीरगञ्ज-समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। फ्रि-तिब्बत कार्यक्रममा पार्टीसँग सल्लाह नगरी सहभागी भएको भन्दै उनलाई निलम्बन गरिएको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
लाटभियामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि-तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरीत र जानकारी नगराई प्रदीप सहभागी भएका थिए।
यस विषयमा सांसद प्रदीपसँग सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकोले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएको अध्यक्ष यादवले बताए।
यसैबीच पार्टीले समाजवादीको केन्द्रीय कार्यालय प्रमुखमा उपमहासचिव प्रकाश अधिकारी र प्रचार विभागमा सचिव प्रशान्त सिंहलाई राख्ने निर्णय गरेको छ।
यस्तै अर्थ विभागमा कोषाध्यक्ष विजयकुमार यादव, पार्टीको विज्ञ परिषद् प्रमुखमा डा.पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुख भीम प्रसाद गौतमलाई तोकिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।