काठमाडौं– सन् २०१८ को पूर्वसन्ध्यामा कोमल वलीले १८ वटा प्रतिवद्धता जाहेर गरेकी छिन् । प्रतिबद्धतामा पढ्न नपाएका २० जनालाई पढाउने व्यवस्था मिलाउनेदेखि, नियमित व्यायाम, महिला शशक्तिकरणका लागि सहयोग गर्ने, मद्यपान धुम्रपान विरुद्ध सचेतना फैलाउने र कुनै पनि विषयलाई राजनीतिक आँखाबाट मात्रै नहेर्नेसम्म छन्।
यी हुन् उनका १८ प्रतिबद्धता
१. यो वर्ष कम्तिमा पनि १८ वटा पुस्तक (फिक्सन र ननफिक्सन) पढ्नेछु र पढ्ने कार्य प्रोत्साहन गर्न साथीहरुलाई तथा इष्टमित्रलाई उपहारमा पुस्तक दिनेछु ।
२. यो वर्ष म कुनै पनि बिषयमा धारणा बनाउँदा सन्दर्भ र तर्कसहित पक्ष वा विपक्षको वकालत गर्नेछु।
३. यो वर्ष म शिक्षाबाट वन्चित २० जना साना नानीहरुलाई पढ्ने व्यवस्था मिलाउनेछु।
४. यो वर्षभित्र म मेरो गृह जिल्ला दाङमा कम्तिमा ३ ठाउँमा लाइब्रेरी स्थापना गर्न सहयोग गर्नेछु।
५. कुनै पनि सर्वजनिक काम गर्दा होस् या अन्य समयमा म आर्थिक पारदर्शिताको वकालत गर्नेछु, आफू पनि आर्थिक रुपमा पारदर्शी हुनेछु।
६. स्वास्थ्यलाई असर गर्ने धुमपान तथा मध्यपान छोड्न सबैसँग आग्रह गर्नेछु।
७. मेरो गृह जिल्ला दाङमा आम मानिसका समस्याबारे छलफल गर्ने र सम्बन्धित निकायलाई जवाफदेयी बनाउन पैरवी गर्नेछु।
८. मुलुकलाई समृद्ध बनाउन मेरो तर्फबाट मैले गर्नुपर्ने सम्पुर्ण दायित्व (कर तिर्ने, सरसफाइमा ध्यान दिने, स्वास्थबारे सचेतना फैलाउने) समयमै पूरा गर्नेछु । मेरा दायित्व पूरा गरेर म अधिकार माग्ने छु । म बाटोमा गाडी चलाउँदा पहिलो प्राथमिकता पैदल यात्रीलाई दिनेछु।
९. गृह जिल्ला दाङको विकासमा समर्पित हुनेछु।
१०. म गीत सङ्गीतको विकासमा सहयोग गर्न छोड्ने छैन।
११. समृद्ध नेपालको यात्रालाई अझ सहयोग गर्न आफू सहज बन्छु।
१२. राजनीतिमा आफ्नो यात्रा तय गरिसकेकाले अब मेरो प्रमुख उद्देश्य समाज सेवा हुनेछ । समाज सेवाका लागि म अहोरात्र खटिनेछु । देश राम्रो बनाउन अब म पुर्ण रुपमा लाग्नेछु।
१३. म कुनै पनि विषयलाई राजनीतिक आँखाबाट मात्र हेर्ने छैन । आफ्नो पार्टीले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक भन्ने छैन । यसको अर्थ सामाजिक काममा पार्टी पहिला अनि काम भन्ने छैन, काम पहिलो प्राथमिकता हुनेछ।
१४. शरीर फिट र फाइन राख्न म दिनहुँ व्यायाम, योगा गर्नेछु।
१५. हाम्रो समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण बलियो भइसकेको छैन । दाङ र देशका अन्य भागका महिलाको शशक्तिकरणमा म समय दिनेछु।
१६. म स्वच्छ प्रतिस्पर्धामा मात्र बिश्वास गर्नेछु । आफ्नो र हाम्रोभन्दा राम्रो र सवाललाई अगाडि बढाउन पैरवी गर्नेछु।
१७. म तपाईंहरु सबैका सिर्जनात्मक आलोचना र प्रतिक्रिया, सल्लाह र सुझावको मनन गर्नेछु । आफूलाई तपाईंहरुको मार्गदर्शनमा अगाडि बढाउनेछु । मलाई राम्रो हेक्का रहनेछ, राजनीतिमा म आउनुको कारण नै तपाईंको कुरा सुनेर त्यस अनुरुप गर्नु हो।
१८. म सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने छैन, प्रोपोगन्डा र ट्रोलहरुबाट टाढा रहनेछु । सधैं सकारात्मक सोच्नेछु। सकारात्मक सोचको विकास र समग्र जिल्लाको विकास्का लागि यो वर्ष म अधिकांश समय दाङमा बिताउनेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।