रामपुर, पाल्पा- रामपुर यातायात व्यवसायी समितिले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा सुरु गरेको छ।
पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो।
हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले आजदेखि रामपुर-डेढगाउँ हुँदै काठमाडौँसम्म रात्रिबस सेवासमेत सञ्चालन गर्ने यातायात व्यवसायी समितिका उपाध्यक्ष खिमबहादुर केसी (पुरुषोत्तम) ले जानकारी दिए।
दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदै काठमाडौँसम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ।
शाखा सम्पर्क काउण्टरको उद्घाटन गर्दै बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले नवलपरासीको पहाडी भेगका जनताले समेत सहज सेवा पाउने हुँदा सेवा सञ्चालनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
रामपुर यातायात व्यवसायी समितिले पाल्पाको रामपुरदेखि दैनिक दिवा तथा रात्रिसेवा यस क्षेत्रलगायत बुटवल, तानसेन, स्याङ्जा, तनहुँ, पोखरा र काठमाडौंसम्म दिँदै आइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।