दमौली- मंगलबार बिहान शंकास्पद ढंगबाट मृत्यु भएका २३ वर्षीय ओमबहादुर विकको शव तीन दिनपछि परिवारले बुझेका छन्।
तनहुँको व्यास नगरपालिका–२ बाराही कलेज नजिकै बुल्दी खोलामा विकको शव फेला परेको थियो। हत्या भएको भन्दै त्यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने भन्दै मृतकका परिवारले शव बुझेका थिएनन्। दमौली अस्पतालमा शवपरीक्षणपछि उनीहरुले बिहीबार शव बुझे।
घटनाको गहिराइमा पुग्न लागेको र छिट्टै हत्यामा संलग्न व्यक्ति नियन्त्रणमा आउने प्रहरीले बताएको छ। अनुसन्धान तीव्र बनाएको र घटनाको नजिकै पुगिसकेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए।
विकको टाउको र अनुहारमा गहिरो चोट लागेको अवस्थामा खोला किनारमा शव फेला परेको थियो। ढुंगाले हानेर हत्या गरिएको भन्दै उनका परिवारले निष्पक्ष छनबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।