काठमाडौं– स्थानीय तहको चुनावमा मतपत्र च्यातिएको घटनामा कसुरदार ठहर भएका मधु न्यौपाने र द्रोणबाबु शिवाकोटी नेकपाका चितवन सदस्यमा चयन भएका छन्।
न्यौपाने र शिवाकोटी लगायत १५५ जना सदस्यलाई सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका हुन्।
२०७४ बैसाख ३१ मा सम्पन्न पहिलो चरण अन्तर्गत भरतपुर महानगरपालिकामा भएको चुनावको मतपत्र गणनाका क्रममा च्यातिएको थियो। मतगणना स्थलमा तत्कालीन माओवादी प्रतिनिधिको रुपमा बसेका न्यौपाने र शिवाकोटीले महानगरको वडा नम्बर १९ को मतपत्र च्यातिदिएपछि सो वडामा पुनः चुनाव भएको थियो।
मतपत्र च्यातिनुअघि सार्वजनिक परिणाममा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल ७ सयभन्दा बढी मतले पछि परेकी थिइन्। उनले हार्ने विश्लेषण भइरहेको समयमा मतपत्र च्यातिएको थियो। मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा साउन २० मा पुन: चुनाव भएको थियो।
त्यसपछि भने दाहालले जित हासिल गरेकी थिइन्।
पार्टीको जिल्ला अध्यक्षमा तत्कालीन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालीन एमालेका नेता कृष्णभक्त पोखरेल चयन भइसकेका छन्। जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेबाट ८० र तत्कालीन माओवादी केन्द्रबाट ७५ जना समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।