बुटवल- आगामी आर्थिक वर्षका लागि प्रस्तुत प्रदेश ५ को बजेट पारित भएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफलपछि आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित गरेको हो।
विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले एकाध कुरामा बाहेक प्रदेशसभा सदस्यहरु सहमति गरेर अगाडि बढ्दै आएको भन्दै आगामी दिनमा पनि सत्ता पक्ष र प्रतिपक्ष नभनी सहमति र सहकार्य गरेर अगाडि बढ्न सके प्रदेश समृद्ध बन्न सक्ने बताए।
प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिलाई प्रदेशको समृद्धिको मुख्य आधार मान्ने तर कृषि आयमा कर लगाउनु उचित नहुने बताए। नदीजन्य पदार्थको प्रदेशले ६ रुपैयाँ तोकेकोमा स्थानीय तहले मनोमानी रुपमा कर लगाउँदा उपभोक्ता मर्कामा परेको भन्दै उनले त्यसलाई नियन्त्रण गनुपर्नेमा जोड दिए।
प्रदेशसभा सदस्य तारा जिसीले जनताबाट उठाइएको कर दुरुपयोग हुन नहुने भन्दै विगतका दिनमा जनताको ढाड सेक्नेगरी कर वृद्धि गरिएको र करको दुरुपयोग भएको स्मरण गराइन्। कर तिरेबापत राज्यले जनतालाई सेवासुविधा दिनुपर्ने भन्दै उनले जनताले तिरेको कर जनमुखी काममा लगाउनुपर्ने बताइन्।
विधेयकमाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशले सहमति र सहकार्यको नयाँ संस्कारको विकास गर्न सफल भएको भन्दै त्यसका लागि प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलका प्रदेशसभा सदस्यहरुलाई धन्यवाद समेत दिए।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले असार १ गते ३६ अर्ब ४१ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।