काठमाडौं- सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो।
‘यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने।
अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ।
स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो।
सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।