काठमाडौं- विदेशी विज्ञापन बज्ने टेलिभिजन च्यानल आजदेखि बन्द भएका छन्। नेपालमा प्रसारण हुने ८५ प्रतिशत विदेशी च्यानल रहेकोमा ती च्यानल आज दिउँसो ३ बजेदेखि बन्द भएका हुन्।
सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागू गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका थिए।
राष्ट्रिय केबल टेलिभिजन महासंघ लगायत इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समिति गठन गरेरै क्लिन फिड व्यवस्थाको विरोध मा जुटेका छन्। राष्ट्रिय केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले क्लिन फिड लागू हुँदा टेलिभिजन कस्तो देखिन्छ भनेर डेमो देखाउन लागिएको बताए।
क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अवैध ढंगले भारतीय डिटिएचका सेटअप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ।
उनले मंगलबार ३ बजेसम्म २४ घण्टाका लागि विदेशी च्यानल बन्द गर्न लागिएको पनि जानकारी गराए।
क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाइदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ।
यसले नेपालमा सञ्चालित डिटिए, आइपिटिभी र डिआइटीजस्ता कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौंको रोजगारी गुम्ने अवस्था सिर्जना हुने जनाएको छ।
नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।