काठमाडौं- काठमाडौं–तराई द्रुतमार्गको काम २ वर्षमा १० प्रतिशत सकिएको छ। उक्त आयोजनामा नेपाली सेनाले कामको जिम्मा पाएको छ।
सोमबार विकास तथा प्रविधि समितिमा आयोजनाको वर्तमान अवस्था र भावी रणनीतिका बारेमा जानकारी गराउँदै आयोजना प्रमुख प्राविधिक सेनानी शरदलाल श्रेष्ठले हालसम्ममा १० प्रतिशत कार्य प्रगति भएको जानकारी गराए। यो २ वर्ष अवधिमा आयोजनाको जग हाल्ने काम गरेको भन्दै उनलेअब कामले अब गति लिने बताए।
सोमबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। संसदका उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महासेठले नेपाली सेनाले द्रुत गतिमा काम गरिरहेको र समयमै आयोजना सम्पन्न हुनेमा आफु आशावादी रहेको बताए।
द्रुतमार्ग निर्माण गर्दा आयोजनाको विस्तृत अध्ययन तथा डिपिआर नै नबनाएर काम सुरु गरिएको भन्दै आलोचना भएको थियो । तर विकास समितिमा बोल्दै आयोजना प्रमुख श्रेष्ठले विस्तृत कार्य योजना बनाएरै सेनाले काम अघि बढाएको बताए।
‘बीचमा डिपिआर बनाउन केही समय लागेको हो। डिपिआर स्वीकृत भएर आउनेबित्तिकै सुरुङमार्गको काम तत्कालै बढाउनेछौं। अहिले कटिङ, फिलिङ, कल्भर्ट बनाउने लगायतका कामहरु भइरहेका छन्। २५ किलोमिटर सडकखण्ले त आफ्नो आकार लिइसकेको छ,’ उनले भने।
अझै स्वीकृत भएन डिपिआर
काठमाडौं–तराई फास्ट ट्रयाक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अझै स्वीकृत भइसकेको छैन।
कोरियन कम्पनी सुसुङ इन्जिनियरिङमार्फत सेनाले १० करोड रुपैयाँ लागतमा द्रुतमार्गको डिपिआर तयार पारको थियो। उक्त डिपिआर गत चैत ५ गते स्वीकृतिका लागि आयोजनाले रक्षा मन्त्रालय पठाएर मन्त्रिपरिषद्सम्म पुगिसकेको भए पनि अझै स्वीकृत हुन सकेको छैन। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।