काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै आन्तरिक रोजगारीका अवसरहरु सिर्जनामा जोड दिने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याई युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरिएको र वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउँदै लगिएको बताएका हुन्।
गरिबी, अभाव र बेरोजगारीमा बाँचिरहेका युवाहरुलाई सामाजिक न्याय प्रदान गर्ने हिसाबले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनासमेत लागू गरिसकेको उनको भनाइ छ।
मन्त्री विष्टले भने, ‘देशका प्रत्येक नागरिकहरुलाई समेट्न सरकारले सामाजिक सुरक्षा योजना लागू गरिसकेको छ, कामको आवश्यकतासँग जनशक्तिलाई जोड्न प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारिसकेको छ।’
चालू आर्थिक वर्षमा बेरोजगार सूचीमा सूचीकृत भएका युवाहरुलाई ३० दिनको रोजगारी उपलब्ध गराउन सुरु गरिसकेको र आगामी वर्षमा ५ लाख युवालाई १ सय दिनको रोजगारी ग्यारेन्टी गरिने विष्टले दाबी गरे। ‘सरकारले लामो समयदेखि रहेको श्रमिक र रोजगारदाताको द्वन्दलाई समाधान गर्न गम्भीरताका साथ कदम चालेको छ,’ मन्त्री विष्टले भने।
लामो समयदेखि मजदुर मालिकबीच विवाद रहँदै आएको चिया उद्योगका कामदारहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सरकार सफल भएको मन्त्री विष्टले दाबी गरे।
‘रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि सरकार प्रयत्नशील छ,’ उनले थपे।
वैदेशिक रोजगारीबाट फर्किनेहरुको सिप परीक्षण र फर्किएकाहरुलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने कार्यक्रम भइरहेको मन्त्री विष्टले दाबी गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।