राजविराज– विदेश पठाइदिने भन्दै १० महिनादेखि एजेन्टको चक्करमा पर्दा पैसा र पासपोर्ट गुमाएका सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का मतेबुल मन्सुरीसहित ४ युवाले पासपोर्ट फिर्ता पाएका छन्।
नेपाल लाइभले गत पुस ३ गते सोमबार प्रकाशन गरेको ‘वैदेशिक रोजगारीमा ठगी, छोरा फर्काउन याचना गर्दै वृद्ध पिता’ शीर्षकको समाचारमा पीडित युवाहरुबारे लेखिएको थियो।
एजेन्ट राजविराज निवासी सेराज सेखले जिल्ला प्रशासन कार्यालय राजविराजस्थित सूचना केन्द्रको रोहवरमा युवाहरुको पासपोर्ट फिर्ता गरेका हुन्। युवाहरुसँग लिएको रकम समेत माघ १५ गतेभित्र फिर्ता गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
एजेन्ट सेखले मतेबुल मन्सुरी, खुस मोहम्मद, कलाम मन्सुरी, अनवारुल मन्सुरी, खुर्सिद मन्सुरीसहित ८ जना युवासँग प्रतिव्यक्ति ४५ हजार र पासपोर्ट लिएर विगत १० महिनादेखि आज–भोलि भन्दै कुराउँदै आएका थिए। तीमध्ये २ जनालाई कतार पठाइए पनि काम सन्तोषजनक नभएको परिवारका सदस्यले गुनासो गरेका छन्।
‘एजेन्टले आज–भोलिमै कतार उडाइदिन्छु भन्थ्यो, तर कहिल्यै उडाएन’, मतेबुलका बुबा इजरायल मियाँले भने, ‘आजित भएपछि सबैको प्रयासमा पासपोर्ट पायौं, पैसा पनि फिर्ता गर्छु भनेको छ।’
सूचना केन्द्रका संयोजक रामप्रमेश मण्डलले मतेबुलसहितका युवाहरुले पासपोर्ट फिर्ता पाएको र पैसा पनि फिर्ता गर्ने सर्तमा भर्पाई गराएर पठाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।