काठमाडौं- पुरातत्व विभागको मापदण्ड अनुसार नै रानीपोखरीभित्रको भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। २०७२ बैसाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणमा महानगरका मेयर र उपमेयरबीचमै विवाद चर्किएको छ। ऐतिहासिकता नमेटिने गरी पुनर्निर्माणको पक्षमा उपमेयर हरिप्रभा खड्गी छिन् भने आधुनिक संरचनासहितको पक्षमा मेयर विद्यासुन्दर शाक्य रहेका छन्।
रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिरहेको छ। अन्य संरचनाका लागि पनि पुरातत्व विभागले मापदण्ड तय गरेको छ। पुनर्निर्माणका क्रममा कंक्रिट प्रयोग गरी संरचना बनाउन थालिएको भन्दै विरोध हुन थालेको छ। तर विभागका प्रवक्ता रामबहादुर कुँवरले भने कंक्रिट प्रयोग गर्नेगरी महानगरपालिकालाई स्विकृति नदिइएको स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।