रोल्पा – गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ।
पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो । बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले नाम परिवर्तनको प्रस्ताव गरेसँगै १९ जना सदस्यले विरोध जनाउँदै बैठक बहिष्कार गरेर निस्किएको बताइएको छ।
प्रस्तावप्रति व्यापक असन्तुष्टि र विरोध जाहेर गर्दागर्दै पनि सुनुवाइ नभए पछि बाहिर निस्कनुको विकल्प भएन वडाध्यक्ष गंज क्षेत्रीले बताए। हाम्रो बहिष्कारपछि सामान्य बहुमतको आधारमा निर्णय भएको आफूले जानकारी पाएको क्षेत्रीले बताए।
गाउँपालिका बाहिर जनताको व्यापक विरोध र नाराबाजी हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरेर बैठक गरी नाम परिवर्तनको निर्णय गरेको क्षेत्रीले आरोप लगाए। ‘लोकतन्त्रमा अल्ममतको पनि कदर हुने भएपनि उहाँहरुले कसैको कुरा नसुनेर निरंकुश शैलीमा निर्णय गर्नुभयो’, क्षेत्रीले भने।
उता गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने सर्वसम्मत हुन नसकेको विषय अल्पमत, बहुमतमा टुंग्याउने विषय भएकाले कानूनको शासन र लोकतन्त्रको मर्मअनुसार गाउँपालिकाको नाम परिवर्तन गरेको बताए।
नाम परिवर्तनको विषयले शहीदको स्मृति र सम्मानसमेत भएकाले अधिकांश जनप्रतिनिधि र जनताले समर्थन गरेको अध्यक्ष घर्तीले प्रतिक्रिया दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।