काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाका धनकुटामा सुरु गरेको छ।
सेवाको सुरुवात प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन्।
मुख्यमन्त्री राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका थिए।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता समेत गरेका छन।
डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उनको भनाइ छ।
कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।