काठमाडौं- वर्षेबालीका लागि रसायनिक मलको जताजतै अभाव छ।
मल अभाव भएकै कारण कतिपय ठाउँमा वर्षेवाली लगाउन ढिलाइसमेत भइसकेको छ।
तर मल अभावको समस्या सम्बोधनका लागि तालुकदार मन्त्री र मन्त्रालय भने जिम्मेवार देखिएका छैनन्।
मल अभावको समस्याका बारेमा संसद्मा उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भने आगामी आर्थिक वर्षदेखी रासायनिक मल अभाव नहुने भन्दै अहिलेको अवस्थालाई उपेक्षा गरेका छन्।
‘रासायनिक मलको अभावका कारण किसानले भोग्नु परेको समस्यालाई आत्मसात गर्दै आगामी आर्थिक वर्षमा मलको अभाव हुन नदिन लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने प्रयोजनार्थ ९ अर्ब बजेट छुट्याइएको छ,’ मन्त्री खनालले भने।
वर्षेवालीका लागि भारतसँग जिटुजी प्रकृयामार्फत मल खरिद गर्नका लागि प्रकृया चालेको मन्त्री खनालको भनाई थियो।
तर, कृषि विकास मन्त्रालयका अधिकारी भने चालु आर्थिक वर्षमा अर्थात् असार भित्रै जिटुजी प्रकृयामार्फत रसायनिक मल आयातका लागि कुनै सम्भावना नरहेको र पहल पनि नभएको बताउँछन्।
तत्कालको समस्या समाधानका लागि कुनै काम गर्न नसकेका कृषि मन्त्रीले आगामी आर्थिक वर्षमा भने रसायनिक मल अभावको समस्या नहुने भन्दै त्यसका विभिन्न आधारहरु समेत संसदमा प्रस्तुत गरेका छन्।
‘मल आपूर्ति तथा वितरणमा सहजताको लागि कृषि सामाग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन क्षमताको गोदाम घर निर्माणका लागि बजेट विनियोजन भएको छ। मलको प्रभावकारी प्रयोगको लागि मल ब्लेन्डिङ्ग कारखाना स्थापनाको लागि बजेट विनियोजन गरिएको छ। यस कारण आगामी आर्थिक वर्षमा रासायनिक मलको समस्या हुने छैन,’ मन्त्री खनालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।