काठमाडौं– सप्तरीको मलेठमा २०७३ फागुनमा ५ जनाको ज्यान जानेगरी भएको घटनामा तत्कालीन नेकपा एमाले र मधेसी मोर्चा दुवै दोषी रहेको उच्च स्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ।
नेकपा एमालेको मेची-महाकाली चुनावी अभियानका क्रममा फागुन २३ गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि प्रहरीले चलाएको गोलीबाट ५ जनाको ज्यान गएको थियो।
राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारी संयोजक रहेको उच्च स्तरीय छानबिन समिति बनाएको थियो।
'फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरीत औद्योगिक क्षेत्रमा सभा गर्ने एमाले, त्यसलाई जुन मूल्य चुकाएर भए पनि हुन नदिने वा बिथोल्न कटिबद्ध भई त्यहाँ जाइलाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेसी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ', सोमबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ।
दुवै पक्षबाट सुरक्षा निकाय र प्रशासनलाई निरीह बनाइएको पनि प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा कार्यक्रम स्थलमा केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु आक्रोशित भई पर्खाल नाघेर कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा तैनाथ सशस्त्र प्रहरीले गोली चलाएको उल्लेख छ।
'प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भयो। कयौं व्यक्ति घाइते भए', प्रतिवेदनमा भनिएको छ।
केही घाइतेको शरीरमा यद्यपि गोली रहेको प्रतिवेदनमा उल्लेख छ।
'प्रहरीले लामो समयसम्म संयमता अपनाएकै देखियो। गोली चलाउनैपर्ने परिस्थिति सिर्जना भएकै अवस्थामा गोली चलाउँदा मानवीय क्षति भएको पाइएको छ। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपछि पनि निर्घात कुटपिट गरेको देखिएको छ', प्रतिवेदनमा भनिएको छ।
यस्तो छ मलेठ घटनाको प्रतिवेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।