काठमाडौं– नेपालको पहिलो गल्फ कोर्स काठमाडौं तिलगंगास्थित शाही नेपाली गल्फ क्लब (आरएनजिसी) को उद्घाटन २०२२ साल भदौं २० मा हुँदै थियो। तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्ने तय भएका कारण त्यसदिन गल्फ कोर्समा मानिसहरूको बाक्लो उपस्थिति थियो। त्यही भीडमा थिए, नेपाली सेनाका पूर्व प्रधानसेनापति ऋषिकुमार पाँडे।
त्यतिबेला पाँडे नेपाल आर्मीको इन्जिनियरिङ शाखामा कार्यरत थिए। र, उनको कार्यथलो थियो, हाल त्रिभुवन विमानस्थलको पानी ट्यांक भएको ठाउँमा बनेको दुई कोठे पक्की घर।
‘उद्घाटन हुने त भनियो। तर, राजालाई ल्याएर राख्ने कहाँ? फेरि गल्फ कोर्सका लागि कार्यालय पनि बनिसकेको थिएन,’ पाँडेले ती दिन सम्झिए।
लामो छलफलपछि तय भएछ, त्रिभुवन विमानस्थलमा पहिल्यैदेखि बनिरहेको इन्जिनियरिङ शाखाको त्यही कोठालाई गल्फ कोर्सको कार्यालय बनाउने। र, उद्घाटनमा पनि राजालाई त्यहीँ राख्ने।
नभन्दै राजा महेन्द्र पनि तोकिएको समयमै तिलगंगा पुगे। उनको भव्य स्वागत भयो। र, जब राजा महेन्द्र उपस्थित पुस्तिकामा हस्ताक्षर गर्न कलमको खोल खोल्न मात्र आँट्दै थिए, बत्ती झयाप्प निभ्यो।
त्यतिबेला महेन्द्र नजिकै उनका कान्छा भाई बसुन्धरा उभिएका थिए। उनले तुरुन्त खल्तीबाट लाइटर निकाले र कोठालाई उज्यालो पार्न फ्याट्ट लाइटर बाले।
लाइटरको त्यही फितलो प्रकाशले कोठालाई केही उज्यालो बनायो। र, राजा महेन्द्रले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरे। वास्तवमा नेपालमा गल्फ कहिले भित्रियो यसको यकिन तथ्य छैन। तर, पहिले गौचरनको नामले चर्चित यो क्लबमा सन् १९१७ देखि नै गल्फ खेल्न सुरु भइसकेको विश्वास गरिन्छ।
२०१९ सालमा भारतको जम्मु कश्मिरस्थित २५औं पृतनामा भारतीय आर्मीसँग इन्जिनियरिङको अतिरिक्त कोर्स गरेर नेपाल फर्किने क्रममा ऋषिकुमारले नयाँ अनुभव गरेछन्– गल्फ खेल पहिलेभन्दा निकै मौलाएछ भन्ने। त्यतिबेला ब्रम्ह शमशेर राणा गल्फको च्याम्पियन नै थिए। जेएन सिंह, भारतीय मिलिटरी मिसनका जनरल त्रिपाल, महेन्द्रका कान्छा भाई बसुन्धरा सबै बिहान–बेलुका तिलगंगाको त्यही गल्फ कोर्समा अभ्यासमा व्यस्त रहन्थे।
त्यतिबेला कोर्सको स्तर त्यति राम्रो थिएन। ९ होलको कोर्समा पानी जाने खोल्सै खोल्सा भेटिन्थ्यो। ‘कान्छा सरकार गल्फ खेल्न आउँदा बार्बरा एडम्सलाई पनि सँगै ल्याउनुहुन्थ्यो,’ करिब ५७ वर्ष अगाडिको कुरा सम्झन्छन्, ऋषिकुमार।
ऋषिकुमार पाँडे
पाँडेले २०१२ सालसम्म आर्मी–११ बाट सहिद स्मारक लिग खेलेका थिए। त्यसपछि उनी पुनास्थित आर्मी कलेजमा सिएएमई कोर्स गर्न गए। त्यहाँ उनले पहिलो पल्ट र्याफ्टिङ, बोटिङ र रोइङ सिके। उनले पुनामा यी खेल सिक्दा नेपालमा नौलो थियो। देश फर्किएपछि उनले वाग्मतीमा यस खेलको प्रयोग पनि गरे।
बर्खाको समय पशुपतीको राजराजेश्वरी घाटबाट वाग्मती खोलामा र्याफ्टिङ गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नजिकै रोकिँदा उनलाई हेर्नेको भीड लाग्थ्यो।
२०१८ सालमा जम्मु–कश्मिरमा इन्जिनियरिङको अतिरिक्त कोर्स गर्न जाँदा ऋषिकुमार गोर्खा पल्टनको फुटबल देखेर चकित परेछन्। ‘नेपालमा भन्दा राम्रो फुटबल खेल्थे उनीहरू। हरेक बाहिनीका बाहिनीपतिलाई आफ्नो फ्रन्ट लाइनमा गोर्खाली खेलाडी नभई चित्तै नबुझने,’ ऋषिकुमारले अनुभव सुनाए।
लामो समयको ट्रेनिङका क्रममा उनले अन्तर बटालियन फुटबल पनि हेर्ने मौका पाए। त्यतिबेला गोर्खालीको १/१ जिआर, १/३ जिआर, ५/११ जिआर बटालियन थियो। यी टोलीले अन्य बटालियनलाई नराम्ररी हराउँथ्यो।
२०१९ साल जेठ ९ मा १/१ जिआर र एएससी डिभिजनबीच भएको खेलमा गोर्खाली पल्टनले ११ गोल हानेछ। त्यहाँ भनाइ नै थियो, ‘अरु पल्टनका मुडाजस्तै अग्ला। नेपाली पल्टन साना तर ढुंगाजस्ता।’
‘हामी नेपाली आर्मीमा हुँदा जतिबेला खेल्थ्यौं, त्योभन्दा स्तरीय खेल थियो गोर्खाली पल्टनको,’ महेन्द्रको कार्यकालमा कान्ति राजपथ र त्रिभुवन राजपथ निर्माणमा सक्रिय ऋषिकुमार भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।