काठमाडौं– सत्तारुढ दल र प्रतिपक्षका नेता एकअर्काविरुद्ध खनिने क्रममा शीर्ष नेताहरुको नाम बिगारेर संसदमा प्रस्तुत भएका छन्। आइतबार नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ उपनामले सम्बोधन गरे।
उनको असंसदीय भाषाप्रति नियमापत्ति जनाउँदै नेकपा सांसद झपट रावलले शेरबहादुरको नाम ‘छेरबहादुर’ भने के हुन्छ भनेर सभ्यता सिकाए।
कांग्रेस सांसद चौधरीले भने, ‘यो सरकार कान्डैकान्डको दलदलमा फसेको छ। जथाभाबी कर निर्धारण गरेर करप्रसादको उपनाम पाएका प्रधानमन्त्री केपी ओलीलाई सधैं झुटका खेति गर्ने भएकाले झुटप्रसाद वली उपनाम दिँदा केही फरक पर्नेवाला छैन।’
चौधरीले प्रधानमन्त्री ओलीको नाम बिगारेर सम्बोधन गरेपछि नेकपा सांसदले नियमापत्ति जनाएका थिए। उनी बोलेलगत्तै बोल्न तम्सिएका थिए नेकपा सांसद रावल। तर, सभामुख कृष्णबहादुर महराले नाम टिपाइसकेका केही सांसदहरु बोल्ने क्रम सकिएपछि उनलाई आफ्ना कुरा राख्न समय दिए।
झपट रावलको भनाइः
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गरेको भन्दै रावलले रेकर्डबाट हटाउन आग्रह गरे। उनले भने, ‘हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ।’
आफूले प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई आदर गर्ने भन्दै उनले यदि उहाँको नाम बिगारेेर भने के हुन्छ भन्दै प्रश्न गरे। ‘हामी शेरबहादुर देउवालाई आदर र सम्मान गर्छाैं। यदि हामीले पनि शेरबहादुरको सट्टा छेरबहादुर भन्न बाध्य भयौं भने के हुन्छ?,’ रावलको प्रश्न थियो।
सभामुखले यो गम्भीर विषय भएकाले आफूले पछि निर्णय लिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।