काठमाडौं– सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनमा पार्टीको सिद्धान्तको रुपमा 'जनताको बहुदलीय जनवाद'लाई उल्लेख गर्नुपर्ने कुरा उठेपछि पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू निकटका नेतासँग छलफल गरेका छन्।
शनिबारको सचिवालय बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत उनी निकटले 'जबज'लाई नै निरन्तरता दिनुपर्ने कुरा उठाएपछि प्रचण्डले बैठकमा उठेका विषय र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न आइतबार बिहान बैठक डाकेका थिए।
'अध्यक्षले सचिवालय बैठकमा उठेका विषय र राजनीतिक प्रतिवेदनका विषयमा ब्रिफिङ गर्नुभयो', बैठकमा सहभागी एक नेताले भने, 'पूर्व सहमतिअनुसार अघि बढ्नुपर्नेमा हामीहरुले सुझाब दियौं।'
गत वर्ष जेठ ३ गते तत्कालीन नेपाल (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुँदा पार्टीको राजनीतिक सिद्धान्तको रुपमा ‘जनताको जनवाद’लाई स्वीकार गरिएको थियो।
तर, पारित भइसकेको भए पनि सो प्रतिवेदन प्रकाशित गरिएको थिएन। प्रतिवेदनमा तत्कालीन माओवादीको सशस्त्र युद्धलाई मान्यता दिइएको र 'जबज' पनि छाडिएको भन्ने पूर्व एमालेका नेताको बुझाइका कारण प्रतिवेदन प्रकाशित नगरिएको पूर्व माओवादी केन्द्रका नेताहरुको बुझाइ छ।
प्रतिवेदन प्रकाशित नहुँदा नेकपाको राजनीतिक सिद्धान्तको विषयमा बहकिएर बहस भइरहेको उनीहरुको बुझाइ छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।