म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडले बर्नलीसँग २–२ गोलको बराबरीमा खेलेको हो।
पहिलो हाफमा २–० ले पछि परेको युनाइटेड दोस्रो हाफमा २ गोल गरेर हारबाट जोगिएको हो। दोस्रो हाफमा दुवै गोल जेसे लिङगार्डले गरेका थिए। उनले ५३ मिनेटमा गोल गरेर बर्नलीको अग्रता २–१ मा झारेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा लिङगार्डले अर्को गोल गरेपछि युनाइटेड हारबाट जोगियो।
त्यसअघि खेलको तेस्रो मिनेटमा बार्नेसले गोल गरेर बर्नलीलाई अग्रता दिलाए। डेफोरले ३६ मिनेटमा दोस्रो गोल गरेपछि बर्नली २–० ले अघि बढेको थियो।
लिगको अर्को खेलमा लिभरपुलले स्वान्सी सिटीलाई ५–० गोलले पराजित गरेको छ। लिभरपुलको जितमा फिर्मिनोले ५२ र ६६ मिनेटमा गरी २ गोल गरे। काउटिन्होले छैटौं, एलेक्जेन्डर अर्नोलले ६५ र ओक्लेड चाम्बर्लियनले ८२ मिनेटमा गोल गरे।
चेल्सीले ब्रिङटनलाई २–० गोलले हरायो। चेल्सीको जितमा मोराटाले ४६ र अलन्सोले ६० मिनेटमा गोल गरे।
लिगमा म्यानचेस्टर सिटी १९ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको युनाइटेड बराबरीमा रोकिएपछि २० खेलबाट ४३ अंक जोडेको छ। युनाइटेड सिटी भन्दा १२ अंकले पछि छ। तेस्रो स्थानको चेल्सीको ४२, चौथो स्थानको लिभरपुलको ३८ र पाँचौ स्थानको टोटनह्यामको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।