काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्।
समूह चरणका १५ खेल सकिँदा विराटनगर वारियर्सले सबै खेल जित्दै १० अंक जोडेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ। चार खेल जितेर भैरहवा ग्लाडिएटरले ८ अंकसहित विराटनगरसँग भेट पक्का गर्यो। २–२ खेल जितेका पोखरा राइनोज र ललितपुर प्याट्रिओट्सले पनि इलिमिनेटरमा स्थान बनाए। १–१ खेल मात्र जितेका काठमाडौं एलेभेन र चितवन टाइगर्स समूह चरणबाटै बाहिरिएका छन्।
समूह चरणमा विदेशी खेलाडी हाबी भएका छन् भने आसा गरिएका नेपाली खेलाडी फ्लप भएका छन्।
ब्याटिङतर्फ विराटनगरका दुई विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। हङकङका बाबर हायत बढी रन प्रहार गर्ने खेलाडीको पहिलो स्थानमा छन्। समूह चरणमा अपराजित विराटनगरका लागि उनले ५ खेलमा २ सय ४० रन प्रहार गरिसकेका छन्। समूह चरणमा सबैभन्दा बढी १२ छक्का प्रहार गरेका उनी एकै इनिङमा बढी रन बनाउने खेलाडी हुन्। उनले चितवन विरुद्धको खेलमा ८१ रन प्रहार गरेका थिए।
यस्तै, विराटनगरबाट खेलेका हङकङका अर्का खेलाडी अंशुमान राथले ५ खेलमा २ सय ४ रन जोडे। समूह चरणमा सबैभन्दा बढी २५ चौका प्रहार गरेका अंशुमानको एकै इनिङमा बढी रन ६० हो।
बढी रन प्रहार गर्ने खेलाडीको तेस्रो स्थानमा पोखरा राइनोजका इस्राउल्लाह छन्। उनले ५ इनिङमा १ सय ७१ रन प्रहार गरेका छन्। उनको एकै इनिङमा बढी रन नटआउट ६१ हो।
बढी रन प्रहार गर्ने खेलाडीको चौथो स्थानमा रहेका पोखराका सुनील धमला नेपाली खेलाडीमध्ये बढी रन प्रहार गर्ने खेलाडी हुन्। १ लाख १५ हजार रुपैयाँमा आबद्ध भएका सुनीलले ५ इनिङमा १ सय ६९ रन प्रहार गरे। उनले अन्तिम खेलमा ललितपुर विरुद्ध नटआउट ७० रन प्रहार गरेपछि पोखराले प्लेअफमा स्थान पक्का गरेको थियो। बढी रन प्रहार गर्ने खेलाडीको पाँचौं स्थानमा पनि विदेशी खेलाडी नै छन्। ललितपुर प्याट्रिओट्सका जयकिशन कोल्सावालाले ५ इनिङमा १ सय ५७ रन बनाएका छन्।
बढी रन प्रहार गर्ने सूचीको छैटौं स्थान रहेका चितवनका कप्तान दीपेन्द्रले १ सय ३० रन प्रहार गरेका छन्। सातौं स्थानमा रहेका भैरहवाका आरिफ शेखले १ सय ८, आठौं स्थानमा रहेका भैरहवाकै पुनित विष्टले १ सय ७ र नवौं स्थानमा रहेका विराटनगरका कप्तान पारस खड्काले १ सय ६ रन बनाए। यस्तै, दसौं स्थानमा रहेका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल र काठमाडौंका अमित श्रेष्ठले समान एक सय रन बनाए।
समूह चरणमा बढी विकेट लिने खेलाडी विराटनगरका बसन्त रेग्मी हुन्। १ लाख ६० हजार रुपैयाँमा आबद्ध भएका बसन्तले ५ खेलमा ११ विकेट लिइसकेका छन्। बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा चितवनका प्रविन गुप्ता छन्। भारतीय खेलाडी गुप्ताले १० विकेट लिएका छन्। तेस्रो स्थानमा भैरहवाका तीव्र गतिका बलर दिपेश श्रेष्ठ छन्। ७५ हजार रुपैयाँमा आबद्ध भएका उनले ९ विकेट लिएका छन्। पोखराका इस्राउल्लाहले पनि ९ विकेट नै हात पारेका छन्।
बढी विकेट लिने खेलाडीको चौथो स्थानमा रहेका भैरहवाका कप्तान शरद भेषावकरले ८ विकेट लिइसकेका छन् भने पाँचौं स्थानमा रहेका विराटनगरका अभिनास कर्णले ७ विकेट लिएका छन्। कर्ण एक लाख रुपैयाँमा विराटनगरमा आबद्ध भएका थिए। ६ खेलाडीले ६–६ विकेट लिएका छन्। जसमा भैरहवाका आरिफ शेख, विराटनगरका पारस खड्का, भैरहवाका हरिशंकर साह, ललितपुरका सुबोध भाटी, पोखराका शक्ति गौचन र पोखराकै ताज अली छन्।
समूह चरणमा केही नाम चलेका खेलाडीले बिर्सनलायक प्रदर्शन गरे। काठमाडौंका कप्तान फरविज माहारुपले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका लागि एक सयभन्दा बढी एकदिवसीय खेल खेलिसकेका माहारुपको काठमाडौंले समूह चरणमा एक खेलमा मात्र जित हात पार्यो। उनले ५ इनिङमा ९५ रन मात्र जोड्न सके। एकै इनिङमा उनको उच्च स्कोर ४२ रह्यो। अलराउन्डर माहारुफले ४ विकेट मात्र लिन सके।
समूह चरणमा विनोद भण्डारी पनि फ्लप भए। बढी रन बनाउने खेलाडीको ५०औं स्थानमा रहेका उनले ५ इनिङमा २० रन जोडे। इपिएलका महँगा खेलाडीमध्येका एक भण्डारीले ५ इनिङमा १५ बल मात्र खेले। १ लाख ७५ हजारमा आबद्ध भएका भण्डारी २ पटक शून्यमा आउट भए भने चार पटक दोहोरो अंक नबनाई पेभेलियन फर्किए। ललितपुर विरुद्धको अन्तिम खेलमा १२ रन प्रहार गर्नु नै उनको उच्च स्कोर हो।
आस गरिएका अर्का ब्याट्सम्यान चितवनका प्रदीप ऐरीले खराब ब्याटिङ गरे। उनले ५ खेलमा २४ रन मात्र जोडे। उनले पाँचमध्ये ४ खेलमा दोहोरो अंकमा रन जोड्न सकेनन्।
प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गरेका सौरभ खनाल पनि इपिएलमा फिक्का देखिए। पोखरामा १ लाख २५ हजारमा आबद्ध भएका सौरभले ५ खेलमा २७ रन मात्र प्रहार गर्न सके। उनले ५ इनिङमा ३३ बलको सामना गर्दा १ चौका र १ छक्का हिर्काए।
सिद्धान्त लोहनीले पनि ५ खेलमा ३६ रन मात्र बनाए। काठमाडौंका सिद्धान्तले २९ बल खेल्दा १ चौका र ३ छक्का हिर्काए। काठमाडौंका सागर पुनले ५ खेलमा ७३ रन जोड्दा ओपनिङमा प्रभावशाली प्रदर्शन गर्न चुके।
बलिङतर्फ तीन खेलमा मौका पाएका काठमाडौंका जितेन्द्रकुमार मुखियाले १ विकेट लिए। तीन खेल खेलेका काठमाडौंकै सुशील कँडेलले पनि १ विकेट मात्र लिए। मार्की खेलाडीको रुपमा काठमाडौंमा आबद्ध भएका सोमपाल कामीले पनि ५ खेलमा ४ विकेट मात्र लिन सके। सिनियर टिमका महत्वपूर्ण बलर सोमपाल बढी विकेट लिने खेलाडीको २०औं स्थानमा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।