काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको प्लेअफ समिकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ललितपुर पाट्रिओट्सले पोखरा राइनोजलाई ६ विकेटले हराएर दोस्रो चरणमा स्थान पक्का गरेसँगै प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको हो।
प्लेअफ अन्तर्गत अब पहिलो क्वालिफायरमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच बुधबार विहान प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार बेहोर्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउनेछ।
बुधबार नै दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर पाट्रिओट्सबीच प्लेअफ अन्तर्गत इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। हार्ने टिम प्रतियोगिताबाट बाहिरिनेछ।
लिग चरणको १५ खेलको समाप्तीमा शीर्ष स्थानको विराटनगरले पाँच वटै खेल जितेर १० अंक जोड्यो। एक खेलमा पराजित भैरहवा ८ अंक जोड्दै दोस्रो भयो। ललितपुर र पोखराले समान ४–४ अंक जोडे। दुवै टिम ३–३ खेलमा पराजित हुँदा २–२ जित निकाल्दै प्ले अफमा पुगेका हुन्। काठमाडौं र चितवन भने १–१ खेलमा विजयी भए। ४–४ खेलमा पराजित भएका दुवै टिम समूह चरणबाटै बाहिरिए।
मंगलबार पोखराले दिएको १ सय ३३ रनको लक्ष्य ललितपुरले ४ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्यो। अन्तिम बलमा १ रन चाहिएको स्थितिमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरेर ललितपुरलाई प्लेअफमा पुर्याएका हुन्। उनले नटआउट २७ रन जोड्न १७ बलमा १ चौका र १ छक्का हिर्काए।
ललितपुरले ८४ रनको ओपनिङ गर्दै राम्रो सुरुवात गरेको थियो। जसमा जयकिशन कोस्लावालाले अर्धशतक प्रहार गरे। उनले ५६ रन बटुले। ४५ बल खेलेका जयकिशनले ४ चौका र ३ छक्का हिर्काए। शंकर रानाले ३५ रन बटुले। उनले ३९ बलमा ५ चौका हिर्काए।
बलिङतर्फ पोखराका इस्राउल्लाहले २ विकेट तथा कप्तान शक्ति गौचन र शुसन भारीले १–१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन जोड्यो। पोखराका लागि ओपनर सुनील धमलाले नटआउट ७० रनको योगदान गरे। उनले ६२ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे। राजेश पुलामीमगरले ३२ रनको योगदान गरे। उनले ३२ बलमा २ चौका र १ छक्का हिर्काए। विनोद भन्डारीले रन आउट हुनुअघि १२ रन बनाए। उनले ७ बल खेल्दा २ चौका हिर्काएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ ललितपुरका सन्दीप लामिछाने, ललितनारायण राजवंशी, रसिद खान र दिपेश भन्डारीले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।