काठमाडौं– चार वर्षपछि गर्ने तयारी गरिएको 'ए' डिभिजन लिग फेरि अनिश्चित बनेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो पटक पुस दोस्रो सातादेखि लिग गर्ने तयारी गरेको थियो। तर, पुस ११ गते भइसक्दा एन्फाले लिगमा भाग लिने क्लबसँग छलफल नगरेकाले तोकिएको समयमा लिग सुरु नहुने भएको छ।
यसअघि एन्फाले गत साउन अन्तिम साता मंसिर १४ गते 'ए' डिभिजन लिग गर्ने निर्णय गरेको थियो। तर, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण मंसिरको लिग स्थगित भएको थियो। त्यसअघि सुरुमा बैशाख र पछि भदौमा गर्ने तय गरिएको लिग सारिएको थियो।
एन्फा प्रवक्ता सञ्जीव मिश्रले क्लबहरुसँग औपचारिक छलफल गरेपछि छिटै नयाँ मिति घोषणा गर्ने बताए।
'हामीले डिसेम्बर अन्तिम सातादेखि लिग गर्ने तयारी गरेका थियौं। अनौपचारिक छलफलमा क्लबहरुले समय मागेकाले अब जनवरी अन्तिम सातादेखि लिग गर्ने तयारी गरेका छौं', मिश्रले नेपाल लाइभलाई भने। जनवरीमा सहमति नभए फेब्रुअरीमा सुरु गर्न सहमति खोजिने उनले बताए। मिश्रले एन्फाले यो वर्ष जसरी भए पनि लिग गर्ने बताए।
एएफसीले सन् २०१८ देखि आफ्ना सदस्य राष्ट्रलाई अनिवार्य रुपमा क्लब लाइसेन्स प्रणाली लागू गराउँदै छ। त्यसका लागि लिग आयोजना गर्नु बाध्यकारी मानिन्छ।
एन्फाले सुरुमा बैशाख दोस्रो सातादेखि लिग गर्ने तयारी गरेकोमा थ्रीस्टार क्लबसँगको विवाद र स्थानीय तहको निर्वाचनका कारण लिग सरेको थियो। लगत्तै थ्रीस्टारसँगको विवाद मिलेपछि एन्फाले भदौमा लिग गर्ने तयारी थालेको थियो। तर, साउन अन्तिम साता बसेको एन्फाको बैठकले एकाएक मंसिरमा लिग गर्ने निर्णय गरेको थियो।
एन्फाले विगत २ वर्षदेखि लिग गराउन सकेको छैन। एन्फाले पछिल्लो पटक ०७२ मा राष्ट्रिय लिग आयोजना गरेको थियो। ए डिभिजन लिग भने ०७० सालदेखि हुन सकेको छैन।
लिगका सबै खेल काठमाडौंमा हुने भएको छ। यसअघि 'होम एन्ड अवे'का आधारमा लिग गराउने भनिए पनि अब काठमाडौंका मैदानमा मात्र लिग हुने भएको हो। लिगका खेल एन्फा कम्प्लेक्स सातदोबाटोको मैदान र सशस्त्र प्रहरी बलको हल्चोकको मैदानमा खेल हुनेछ। थप अर्को एउटा मैदानमा खेलाउने कुरा भए पनि तेस्रो मैदानको टुंगो लागिनसकेको एन्फा प्रवक्ता मिश्रले बताए।
लिगमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। सुरुमा १२ टोलीबीच लिग गर्ने भनिए पनि पछि ४ टोली थप गरिएको थियो। एन्फाले गत भदौमा उपत्यका बाहिरका चार टोलीलाई लिगमा समेट्ने निर्णय गरेको थियो।
एन्फाको नयाँ कार्यसमितिका लागि आगामी १४ चैतमा निर्वाचन हुने भएकाले त्यसअघि नै लिग सुरु गर्ने एन्फा नेतृत्वको योजना छ। एन्फाले कार्यसमितिको निर्वाचन पनि तीन पटक सारिसकेको छ। असोजमा हुनुपर्ने निर्वाचन पुस १७ गतेका लागि तोकिएको थियो। त्यसपछि माघ ११ का लागि तोकिएको निर्वाचन फेरि चैत १४ का लागि सारिएको हो।
ए डिभिजन लिगमा भाग लिने क्लबहरु-
थ्रीस्टार, फ्रेन्ड्स, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लब।
उपत्यका बाहिरका टिम-
झापा ११, मोरङ एफसी, रुपन्देही, सुदूरपश्चिम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।