धनगढी– दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने भएको छ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका अध्यक्ष सुरेश हमालले सिजी ग्रुपको नेपाल आइसबीच मुख्य प्रायोजनमा सम्झौता भएको जानकारी दिए। प्रतियोगितालाई नेपाल टेलीकमले सह प्रयोजन गरेको छ।
झण्डै एक करोड १० लाख खर्च हुने गोल्डकपमा १२ टिमको सहभागिता रहनेछ। नकआउटका आधारमा हुने प्रतियोगितामा थ्रीस्टार, साविक विजेता मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, नेपाल एपिएफ, संकटा, च्यासल युथ, झापा ११, सहारा, रुपन्देही ११, धरान र आयोजक सुदूरपश्चिम ११ सहभागी हुनेछन्। त्यस्तै भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ। थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यहि प्रतियोगिता मार्फत फ र्न लागेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले बताए।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।