काठमाडौं– भैरहवा ग्लाडिएटर एभरेस्ट प्रिमियर लिग (इपिएल) को प्लेअफमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा पोरखा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवाले दोस्रो चरणमा स्थान पक्का गरेको हो।
अन्तिम खेल खेल्नुअघि लिगको दोस्रो स्थानमा रहको भैहरवाले चार खेलबाट ६ अंक जोड्यो। अन्तिम खेलमा मंगलबार चितवनलाई हराए भैरहवाले क्वालिफायरमा शीर्ष स्थानको विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ। यता ४ खेलबाट ४ अंक जोडेको पोखराले भने प्ले अफमा पुग्न मंगलबार हुने ललितपुरविरुद्ध जित निकाल्नु पर्नेछ।
मंगलबार समूह चरणको अन्तिम खेलमा चितवन र भैरहवा तथा पोखरा र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर, पोखरा र चितवन मध्ये २ टिम प्ले अफमा पुग्नेछन्। यसअघि विराटनगर समूह विजेताको रुपमा दोस्रो चरणमा पुगेको थियो।
सोमबार कीर्तिपुरस्थित त्रिवी मैदानमा पोखराले दिएको १ सय ९ रनको लक्ष्य भैरहवाले १७.४ ओरभमा ३ विकेट गुमाएर पार गर्यो। भैहरहवाका लागि कप्तान शरद भेषवाकरले नटआउट ३२ रन जोडे। उनले ३७ बलमा ३ चौका प्रहार गरे। आरिफ शेखले आक्रामक इनिङ खेल्ने क्रममा नटआउट ४८ रन जोडे। उनले ४७ बलमा ३ चौका र ३ छक्का हिर्काए। ओपनिङ ब्याट्सम्यान प्रथम सलुङकेले १२ बलमा ६ चौका हानेर २५ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८.३ ओभरमा १ सय ८ रनमा अलआउट भयो। पोखराका लागि ओपनिङ ब्याट्सम्यान इस्राउल्लाहले ४१ रन जोडे। सुनील धमलाले १५ रन जोडे भने असिफ अली १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। जसमा विनोद भन्डारी र राजेश पुलामी मगर शून्य रनमा आउट भए। पोखराको इनिङ ध्वस्त पार्न भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषवाकर र कृष्ण कार्कीले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।