काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल (एपिएफ)लाई रिजल्ट ओरिएयन्टेड काम गर्न निर्देशन दिएका छन्।
प्रदेशमा बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी बलका डिआइजीलाई बुधबार गृह मन्त्रालयमा बोलाएर उनले सो निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाले भने, ‘एक्सन र रिजल्ट ओरियन्टेड भएर काम गर्नुहोस्। राष्ट्रसेवकको मूल्यांकन उसले दिने परिणामबाट मात्र हुन्छ।’
राज्यले दिएको जिम्मेवारी अनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमामा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिन गृहमन्त्री थापाले निर्देशन दिए।
‘प्रदेशको विशिष्टता अनुसार एक्सनप्लान बनाउनुहोस्। जनतासँगको सम्बन्ध सुमधुर राख्दै काम गर्नुहोस्,’ उनले भने।
गृहसचिव प्रेमकुमार राईले गृहप्रशासन सुधार कार्ययोजना, मन्त्रालयको निति नियम, निर्देशन, संगठनको कार्ययोजना अनुुरुप काम गर्न निर्देशन दिए।
मनसुन सुरु हुन लागेकोले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनको लागि आवश्यक योजना बनाउन उनले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।