मुम्बई– भारतले श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिज क्लिनस्विप गरेको छ। यसअघि लगातार दुई खेल जितेर सिरिज कब्जा गरिसकेको भारतले तेस्रो खेलमा पनि श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।
जितसँगै भारतले सन् २०१७ वर्षमा बढी खेल जित्ने रेकर्ड बनाएको छ। भारतले सन् २०१७ मा ३७ खेल जितेर रेकर्ड बनाएको हो। भारत २०१७ मा बढी खेल जित्ने टिम बनेपनि एकै वर्षमा बढी खेल जित्ने टिमको रेकर्डबाट १ जित टाढा छ। एकै वर्षमा बढी खेल जित्ने रेकर्ड अस्ट्रेलियाको नाममा छ। अस्ट्रेलियाले सन् २००३ मा ३८ खेल जितेर रेकर्ड बनाएको थियो।
आइतबार मुम्बइमा भएको खेलमा श्रीलंकाले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य भारतले ४ बल बाँकी छदा ५ विकेट गुमाएर पार गरेको थियो। भारतका लागि ओपनर तथा कप्तान रोहित शर्माले २७ रन जोडे। श्रेयास इयरले ३० र मनिष पान्डेले ३२ रनको योगदान गरे। दिनेश कार्तिकले नटआउट १८ तथा महेन्द्रसिंह धोनीले नटआउट १६ जोडे। बलिङतर्फ दसमान्था चामेरा र दसुन शनाकाले समान २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन जोड्यो। श्रीलंकाका लागि असेला गुणरत्नेले ३६ तथा दसुन शनाकाले नटआउट २९ रन जोडे। बलिङतर्फ भारतका हार्दिक पान्ड्या र जयदेव उनाकदले समान २–२ विकेट लिए। जयदेव म्यान अफ दि म्याच र प्लेयर अफ दि सिरिज घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।