काएरो- इजिप्टको उत्तरी प्रान्त शर्कियामा शंकास्पद गतिविधि सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्ने क्रममा आइतबार नौ जना आतंकवादी मारिएका त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
इजिप्टको सुरक्षा बलले शर्कियाको एक भागमा सुरक्षित आश्रयस्थल बनाई उत्तरी सिनाइ क्षेत्रमा आक्रमण गर्ने योजनाका साथ प्रशिक्षण शिविर चलाएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा झडप भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छापा मार्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण सुरु गरेपछि चलाएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको जनाएको छ। उनीहरूबाट बन्दुक तथा युद्ध सामग्री नियन्त्रणमा लिइएको बताइएको छ।
यसअघि शनिबार राती नकावधारी बन्दुकधारीहरूको एक समूहले राजधानी काएरोको दक्षिणी भागमा रहेको क्याफेमा आक्रमण गरी तीन जना सर्वसाधारणको हत्या गरेका थिए भने पाँच जना गम्भीर घाइते भएका थिए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।