काठमाडौं- अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक रेमिट्यान्स कम्पनी पेपलबाट रेमिट्यान्स सेवाको सुरुआत गरेको जनाएको छ।
सो सेवाको सुरुवातपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ। नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ।
यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्सचेन्जसँग पनि सम्झौता गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।