काठमाडौं- नेपाली कांग्रेसका नेतृहरुले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश तुरुन्त जारी गरी मार्ग प्रशस्त गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।
पार्टीका दुई दर्जन नेतृहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश जारी गरी राष्ट्रियसभाको निर्वाचनका लागि सहज राजनीतिक निकास दिन माग गरेका हुन्।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेपाल महिला संघ नेतृहरु दिव्येश्वरी शाह, ओमकला गौतम, ललितकला गुरुङ, निर्मला क्षेत्री, नानु बास्तोला शिवाकोटी, महिन्द्रा लिम्बू, मधु शाही ठकुरी, रंगमति शाही, उषा भण्डारी, प्रसिस महरा, कमला राई लगायतले सो अपिल गरेका हुन्।
संविधानको धारा ८३ अनुसार राष्ट्रियसभाको निर्वाचनबिना अर्को सरकार बन्न पनि नसक्ने र निर्वाचन प्रक्रिया पनि पूरा नहुने भएकाले अध्यादेश प्रमाणीकरण गर्नु अपरिहार्य भएको उनीहरुको जोड छ।
राष्ट्रिय सभामा निर्वाचित भएर आउने महिलाको संख्या एक तिहाइ नभएमा दलहरुले प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्दसूचीमा समाविष्ट महिला उम्मेदवारको नाम समावेश गरी संघीय संसदमा कम्तीमा एक तिहाई सदस्य महिला निर्वाचित गर्नै पर्ने हुन्छ।
राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिक तर्फबाट व्यवस्थापिका संसदका महिला सदस्य निर्वाचित गर्न र संख्या निर्धारण गर्न सम्भव नहुने उनीहरुको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।