भरतपुर- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभामा प्रतिपक्ष दल समेत आवश्यक पर्ने बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभामा प्रतिपक्ष दलको समेत उपस्थिति रहनेगरी विवाद समाधान गरिने बताए। अध्यादेश विवाद केही दिनभित्रै अन्त्य हुने दाबी गर्दै दाहालले संविधानमा राष्ट्रियसभाबारे ठोस कुरा उल्लेख नभएकाले विवाद देखिएको बताए।
‘सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी भयो। पछि कांग्रेसका नेताहरुका कारण बहुमतीय प्रणाली प्रस्ताव गरिएको हो’, दाहालले भने, ‘एकल संक्रमणीयमा जाँदा महिला, दलित, अपांग तथा पिछडिएको क्षेत्रको सदस्य निर्वाचित गर्न समस्या आउँछ, त्यसका लागि बहुमतीयमै जानुपर्छ। तर राष्ट्रिय सभामा प्रतिपक्ष पनि चाहिन्छ। त्यसमा एमाले अध्यक्ष र मेरो गम्भीर रुपमै कुराकानी भएको छ।’
कांग्रेसले राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमार्फत गर्नुपर्ने बताउँदै आएको छ भने एमालेले एकल संक्रमणीय प्रणाली अनुसार गर्नुपर्ने अडान राख्दै आएको छ। बहुमतीय प्रणाली अनुसार निर्वाचन भए राष्ट्रियसभामा कांग्रेसको उपस्थिति शून्य रहने अवस्था आउनेछ। सोही कारण कांग्रेसले एकल संक्रमणीय आधारमा निर्वाचन हुने अध्यादेश पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिँदै आएको छ।
अध्यादेश विवाद राजनीतिक भएकाले त्यसलाई संवाद मार्फत नै समाधान गर्नुपर्ने दाहालको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।