जकार्ता- मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
विशेषगरी मुस्लिम देश तथा अन्य देशमा पनि इस्लामिक अतिवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई ध्यान दिँदै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो। यसैबीच इन्डोनेसियाको राजधानी जकार्तामा पनि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन्।
क्रिसमसको पूर्वसन्ध्या पारेर जकार्तामा हिंसा मच्चाउने तयारी भइरहेको आशंकामा केही व्यक्तिलाई पक्राउ पनि गरिएको बताइएको छ।
इस्लामिक अतिवादी संगठन इस्लामिक स्टेट् (आइएस) ले यस्तो आक्रमणको योजना बनाएको भन्दै विभिन्न देशमा यस हप्ताका लागि थप सुरक्षाको प्रबन्ध मिलाइएको समाचारहरु प्राप्त भएका छन्।
चेकजाँच र खोजीका क्रममा पक्राउ परेका केही व्यक्ति इस्लामिक स्टेट्स (आइएस) सँग सम्बन्ध रहेको अनुमान गरिएकाले पनि सुरक्षामा ध्यान दिनुपरेको सुरक्षा अधिकारीहरुको भनाइ छ।
क्रिसमस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल, रेस्टुरेन्ट, सपिङ मल आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।