काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक नै अवरुद्ध पारेर कांग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार कांग्रेसले प्रदर्शन गरेको बताए।
'मेरा मित्र शेरबहादुर देउवाजीले प्रधानमन्त्रीले होइन मैले पहिले बोल्नुपर्छ भनेर वेल घेर्न जानुभयो,' उनले भने, 'म आश्चर्यचित भएँ, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने।'
दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै कांग्रेस भने त्यसको विपक्षमा उभिएको बताए।
‘लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ। हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्ट्रम घेराउको नेतृत्व गरेर अघि बढ्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘त्यो घटनाबाट आश्चर्यचकित भएँ म। उहाँहरुलाई संसदीय मर्यादा थाहा हुनुपर्ने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।