सोल- संयुक्त राष्ट्र संघले क्षेप्यास्त्र परीक्षणको विरोधमा एकपछि अर्को नाकाबन्दी थपिरहँदा उत्तर कोरियाले यसको तीव्र विरोध गरेको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत साता उत्तर कोरिया विरुद्ध थप नाकाबन्दीको घोषणा गरिएसँगै उसले कडा शब्दमा विरोध गरेको हो।
उत्तर कोरियाले यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकतामाथि धावा बोलेको र यसले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नुको साटो युद्धका लागि प्रेरित गर्ने दाबी गरेको छ। उत्तर कोरियाली विदेश मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस नाकाबन्दीबाट शान्ति स्थापनामा नभएर थप हिंसा र अशान्तिका लागि काम हुने पनि जनाएको छ।
पछिल्लो नाकाबन्दी उत्तर कोरियामाथि लगाइएको यस वर्षको तेस्रो चरणको नाकाबन्दी हो। यो नाकाबन्दीमा खासगरी प्रशोधित तेलको आयातमा ९० प्रतिशत प्रतिबन्ध लगाइएको छ। त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई थप अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउने तयारी गरिएको समाचारमा जनाइएको छ।
हालैमात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कदम नचाल्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए। यसका साथै उनले एक सार्वजनिक कार्यक्रममा अमेरिका उत्तर कोरियासँग विनाशर्त वार्ता गर्न तयार रहेको पनि बताएका थिए।
चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट आणविक कार्यक्रम नियन्त्रण हुन सक्ने अपेक्षा गरेको छ। चीनले सधैं वार्ताबाटै समस्या समाधानमा जोड दिँदै आएको छ।
आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ। उत्तर कोरियाले भने यो आणविक अस्त्रको होड रोक्ने बारेमा कुनै संकेत दिएको छैन। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।