काठमाडौं- संघीय समाजवादी फोरमले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश तत्काल पारित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेको छ।
शीतल निवासमा आइतबार बिहान भएको भेटमा संघीय समाजवादी फोरमका शीर्ष नेताले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण नगरे राजनीतिक गतिरोध अझ लम्बिने बताएका थिए।
राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश विवादित बनेपछि राष्ट्रपति भण्डारीले त्यसमा राजनीतिक सहमति जुटाउन मधेसकेन्द्रित दल समाजवादी फोरमलाई छलफलमा बोलाएकी थिइन्। राष्ट्रपतिसँग भेट गर्न फोरम अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ आइतबार बिहान शीतल निवास पुगेका थिए।
अध्यादेश प्रमाणीकरण नगरेसम्म राष्ट्रियसभा निर्वाचन गर्न कानुनी जटिलता निम्तने भन्दै फोरम अध्यक्ष यादवले त्यसले नयाँ सरकार गठनमा अझ ढिलाइ हुने बताएका थिए।
यादवको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘तपाईं जति समयसम्म अध्यादेश रोक्नुहुन्छ, शेरबहादुर देउवा नेतृत्वको सरकार त्यति नै लम्बिन्छ।’
भेटमा फोरम अध्यक्ष यादवले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न समेत आवश्यक रहेको बताएका थिए।
यादवले प्रदेश प्रमुख नियुक्त नभएसम्म प्रदेश सांसदले सपथ ग्रहण गर्न नपाउने र त्यसले राष्ट्रियसभा गठनमा ढिलाइ भएर नयाँ सरकार गठनमै बाधा पुग्ने उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।