सुर्खेत– तीन दिनदेखि कालीकोट सदरमुकाम मान्म अशान्त बनेको छ। म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप भएसँगै अशान्त बनेको मान्म आइतबार पनि तनावपूर्ण छ। शुक्रवार प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि कालीकोट तनावग्रस्त बनेको हो।
आइतबार साँझ ४ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ देखि १० बजेसम्म २ घन्टाका लागि हटाइएको भए पनि स्थानीय प्रशासनले अहिले पुनः कर्फ्यु आदेश जारी गरेको छ।अवस्था थप उग्र हुने नदिन पुनः कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जनाए। उनले स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने बताएका छन्।
कर्फ्यु लागेसँग मान्म बजार सुनसान बनेको त्यहाँबाट पत्रकार हस्त चौलागाईंले जनाएका छन्। उनका अनुसार मान्न बजार पूर्णरुपमा ठप्प छ भने आन्दोलनरत पक्ष सडकमा उत्रिएको छैन। स्थानीय प्रशासन तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा र मृतकका आफन्तबीच छलफल भए पनि सहमति हुन भने सकेको छैन।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, गोली हान्ने प्रहरी, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखेका छन्।
म्यादी प्रहरीको बिदाइ कार्यक्रममा पारिश्रमिको विषयमा विवाद हुँदा शुक्रबार कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा म्यादी प्रहरी ऐडीको मृत्यु भएपछि कालीकोट तनावग्रस्त बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।