एजेन्सी– जेरुसलेमलाई इजरायलको राजधानी बनाउने अमेरिकी अभियान गत बिहीबार संयुक्त राष्ट्रसंघको महासभाबाट तुहिसकेको छ। तर, यो महासभामा राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हालीले गरेको सम्बोधनलाई लिएर अमेरिकामा नयाँ बहसले जन्म लिएको छ। निकीले राष्ट्रसंघको महासभामा अमेरिकाको पराजयका बाबजुद आफ्नो देशले इजरायलको राजधानी जेरुसलेममा राख्ने अडानमा कायमै रहने घोषणा गरेकी थिइन्।
उनले मतदान हुनुअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै भाषामा आफ्नो देशको पक्षमा उभिन सहयोगी राष्ट्रलाई आह्वान गरेकी थिइन्। निकीले आफ्नो देशलाई सहयोग नगर्ने राष्ट्रलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्नेसम्मको चेतावनी दिएकी थिइन्।
उनको भाषणलाई लिएर केहीले आलोचना पनि गरेका छन्। तर, अमेरिकी स्वार्थलाई अगाडि राखेर राष्ट्रसंघमा निर्भिकताका साथ बोलेको भन्दै पूर्व लेफ्टिनेन्ट कर्णेल राल्फ पिटर्सले निकीमा पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने सम्भावना देखेको बताएका छन्।
राल्फ अमेरिकाको आर्मी विशेषज्ञ मानिन्छन्। सन् २००३ मा इराक युद्धको पक्षपाती रहेका राल्फले पछिल्लो समय बाराक ओबामाको विदेश नीतिलाई ढुलमुलेको संज्ञा दिएका थिए। उनले अमेरिकाबाट प्रसारण हुने फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सबै गुण निकी हालीसँग भएको भन्दै उनको खुब प्रसंसा गरेका छन्।
पेसाले आर्मी भए पनि दुई दर्जनभन्दा बढी किताब लेखिसकेका ६५ वर्षीय यी पूर्व कर्णेलको भविष्यवाणीले निकीको विषयमा अमेरिकीको चासो बढ्नु स्वभाविक नै हो।
को हुन्, निकी हाली?
निकी हालीलाई गत वर्ष ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत बनाएर पठाएको थियो। उत्तर कोरियाको आणविक विकाशसँगै कोरिया महाद्वीपमा बढेको तनावपछि उनले दक्षिण कोरियाको सैन्य सामर्थ्य विस्तारमा अमेरिकाले सहयोग गर्नुपर्ने आवाज उठाएकी थिइन्। राष्ट्रसंघमा उनको आवाज धेरै पल्ट मुखरित हुँदै आएको छ। त्यसैले उनलाई भावि ‘सेक्रेटरी अफ स्टेट’ का रुपमा पनि प्रचार गर्न थालिएको छ।
सन् २०१६ मा ‘टाइम म्यागजिन’ ले निकीलाई विश्वको सयौं प्रभावशाली महिलाको सूचीमा राखेको थियो। सन् २०१२ मा रिपब्लिकनका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार मिट रोम्नीले निकीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन खोजेका थिए। त्यतिबेला निकी दक्षिणी क्यारोलिनाको गभर्नर थिइन्। उनले त्यतिबेला आफूप्रति जनताको उत्तरदायित्व रहेको भन्दै उपराष्ट्रपतिको प्रस्ताव स्वीकार नगर्ने बताएकी थिइन्।
रोचक कुरा, निकी भारतीय–अमेरिकी हुन्। उनको पुख्र्यौली घर भारतको पञ्जाबस्थित अमृतसर हो। उनका बुवाको नाम अजितसिंह रन्दबा हो। जो पेशाले पञ्जाब कृषि विश्वविद्यालयका प्राध्यापक थिए। उनकी आमा राज कौरले पनि दिल्ली विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकी थिइन्।
रन्दबा परिवार सन् ७० को दशकअघि नै अमेरिका पुगेको थियो। ब्रिटिश कोलम्बिया विश्वविद्यालयबाट पिएचडी गरेका अजित अध्यापनका लागि दक्षिणी क्यारोलिना पुगेका थिए। त्यहीँ निकीको जन्म १९७२ मा भएको हो। उनको वास्तविक नाम निम्रता रन्दबा हो। उनलाई घरमा बोलाइरहने नाम निकी थियो।
निकीलाई उनका अविभावकले ५ वर्षको हुँदा स्थानीय ब्युटी प्रतियोगिता ‘मिस बामवर्ग’ मा समावेश गराउन खोजेका थिए। त्यतिबेला अश्वेत र गोराहरूलाई मात्र अवार्ड दिने चलन थियो। यी दुबै ‘क्याटगोरी’ मा उनी फिट नहुने भन्दै आयोजकले उनको नाम दर्ता गर्न मानेनन्।
उनका दुई भाई र एक बहिनी छन्। उनले क्लेमसन विश्वविद्यालयबाट स्नातक गरेकी छिन्। उनी २०१० मा डेमोक्रेटिकका उम्मेदवार भिन्सेन्ट सेहिनलाई पराजित गर्दै दक्षिणी क्यारोलिनाको गभर्नर नियुक्त भएकी थिइन्। उनी अमेरिकाको दक्षिणी राज्यमा गोराबाहेक गभर्नर नियुक्त हुने तेस्रो व्यक्ति हुन्।
निकीले सन् १९९६ मा दक्षिण क्यारोलिनामा राष्ट्रिय सुरक्षा गार्डमा कार्यरत मिचेल हालीसँग विवाह गरेकी थिइन्। उनीहरूका दुई छोरी छन्। विवाहपछि क्रिश्चियन धर्म अपनाएकी निकी अहिले पनि शिखको धार्मिक स्थल गुरुद्वारा र क्रिस्चियनहरूको चर्च जाने गर्छिन्। उनलाई सन् २०१५ मा दक्षिण क्यारोलिना विश्वविद्यालयले विद्यावारिधीको उपाधि प्रदान गरेको थियो।
गत वर्षको अमेरिकी राष्ट्रपती निर्वाचनमा डेमोक्रेटिककी उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएपछि राजनीतिबाट सन्यास लिन्छु भनेकी थिइन्। क्लिन्टनलाई अमेरिकाको पहिलो महिला राष्ट्रपतिका रुपमा हेरिएको थियो, तर उनले जित हात पार्न सकिनन्। अहिले राष्ट्रसंघको भाषण र पूर्व लेफ्टिनेन्ट कर्णेल राल्फ पिटर्सको प्रशंसाका कारण अमेरिकाको पहिलो महिला राष्ट्रपतिका रुपमा निकीको चर्चा चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।