रोम– स्लोभाकियाका मिडफिल्डर मारेक हाम्सिकले अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको रेकर्ड तोडेका छन्। हाम्सिकले इटालियन क्लब नापोलीका लागि सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका हुन्।
शनिबार राति साम्पडोरियाविरुद्ध ३९ मिनेटमा गोल गरेर हाम्सिकले रेकर्ड बनाएका हुन्। हाम्सिकले नापोलीका लागि १ सय १६औं गोल गरेका हुन्। सन् १९८४ देखि १९९१ सम्म नापोलीबाट खेलेका म्याराडोनाले १ सय १५ गोल गरेर क्लबका लागि बढी गोल गर्ने रेकर्ड बनाएका थिए।
हाम्सिकले ४ सय ६५ खेलमा १ सय १६ गोल गर्दा म्याराडोनाले २ सय ५९ खेलमा बढी गोलको रेकर्ड बनाएका थिए।
खेलमा इटालियन सिरि एको पहिलो स्थानमा रहेको नापोलीले साम्पडोरियालाई ३–२ गोलले पराजित गरेको छ। दोस्रो स्थानको युभेन्ट्सले रोमालाई १–० ले हराएको छ। तेस्रो स्थानको इन्टर मिलान पराजित भएको छ। इन्टरलाई साउसोलोले १–० ले हरायो।
लिगको पहिलो स्थानको नापोलीको १८ खेलबाट ४५ अंक छ। दोस्रो स्थानको साबिक विजेता युभेन्टसको ४४ तथा तेस्रो स्थानको इन्टर मिलानको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।