काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अद्भुत प्रदर्शन जारी राखेको छ। सिटीले लागतार १७ खेलमा जित निकाल्ने क्रममा वर्नमाउथलाई ४–० ले पराजित गरेको छ।
सिटीको जितमा सर्जियो अग्युरोले २ गोल गरे। अग्युरोले खेलको २७ र ७९ मिनेटमा हेडमार्फत गोल गरेका थिए। रहिम स्टर्लिङले ५३ तथा डानिलोले ८५ मिनेटमा गोल गरेका थिए।
योसँगै सिटीले सन् २०१७ मा सय गोल पूरा गरेको छ। सन् १९८२ मा लिभरपुलले एकै वर्षमा सय गोल पूरा गरेको थियो। त्यसपछि सय गोल पूरा गर्ने सिटी पहिलो टिम बन्यो।
लिगको अर्को खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–२ को बराबरीमा रोकेको छ। चेल्सी पनि एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ। टोटह्यामले बर्नलीलाई ३–० ले हराएको छ।
लिगमा १९ चरणको खेलमा सकिदा सिटीले ५५ अंक जोडेको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४२, तेस्रो स्थानको चेल्सीको ३९, चौथो स्थानको लिभरपुलको ३५, पाँचौ स्थानको टोटनह्यामको ३४ र छैटौ स्थानको आर्सनलको ३४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।