पर्सा– स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ।
क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए।
उनले असोज २ को स्थानीय तह निर्वाचनमा कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेकाले उनीहरुको पार्टीको सदस्यता समेत निलम्वन हुनेगरी कारबाही गर्न पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताए।
क्षेत्रीय समितिको बैठकले पूर्वमन्त्री चौधरीसहित र पूर्व जिल्लासभापति जनार्दनसिंह क्षेत्री, श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डेलाई कारबाही गर्न सर्वसहमत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तवले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।