नयाँ दिल्ली (एजेन्सी)– चारा घोटाला काण्डमा विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी अध्यक्ष लालु प्रसाद यादवलाई सिबिआईको विशेष अदालतले शनिवार अपराधी घोषित गरेको छ। करिब ३७ करोड ७० लाख रुपैयाँको यो घोटालामा २२ व्यक्तिलाई अभियुक्त बनाइएको थियो। राचीमा विशेष अदालतले फैसला सुनाउने क्रममा १५ जनालाई अपराधी घोषित गरेको छ। बाँकी ७ जनालाई सफाई दिएको छ।
सफाई पाउनेमा विहारका अर्का पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रले सफाई पाएका छन्। अदालतको निर्णयपछि जहाँ मिश्रले न्याय पाएको बताएका छन्, लालुले फैसला राजनैतिक प्रेरित रहेको प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो आधिकारिक ट्विटरमार्फत भनेका छन्, ‘जति नै झुटो बुनेपनि सत्य आफ्नो ठाउँमा छ। धर्मयुद्धमा लालु एक्लो छैन्, पुरा विहार मसँग उभिएको छ।’
सिबिआईको विशेष अदालतका न्यायाधीस शिवपाल सिंहले फैसला सुनाउँदा लालुका छोरा तेजस्वी यादव, आरजेडी नेता अब्दुल बारी सिद्दिकीलगायत अन्य नेता पनि थिए। न्यायाधीसको निर्णय आएपछि लालुलाई प्रहरीले हिरासतमा लिएको थियो। सन् १९९१ मा गाईवस्तुको लागि खरिद गरिएको चारामा घोटाला गरेको भन्दै १९९७ मा ३८ जना विरूद्ध पहिले मुद्धा परेको थियो। जसमा ११ जनाको यसअघि नै मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।