काठमाडौं– अधिवक्ता दिपेन्द्र झाले भारतीय नाकाबन्दीले मधेस आन्दोलनलाई नोक्सान पुर्याएको बताएका छन्।
संविधान जारी गर्दा मधेसमा भएको आन्दोलनलाई भारतले नाकाबन्दी गरेर कमजोर पारेको उनको तर्फ छ। राजधानीमा शनिबार आफ्नो पुस्तक ‘फेडरल नेपाल : ट्रायल एन्ड ट्रिब्युलेसन’ को विमोचन कार्यक्रममा अधिवक्ता झाले भारतले मधेसलाई गलत रुपमा प्रयोग गरेको आरोप लगाए।
‘हाम्रो आन्दोलन आफ्नो हिसाबले चलिरहेको थियो, वीरगञ्जमा २० हजार मान्छे सडकमा उत्रेका थिए’, झाले प्रश्न गरे, ‘नाकाबन्दी लगाउन उनीहरुलाई कसले भनेको थियो?’
मधेस आन्दोलनको सवालमा भारतसँग कोर्स करेक्सन गर्ने समय आएको भन्दै उनले भारतसँग एस म्यान नभई फ्रेन्डसिपको सम्बन्ध बनाउनुपर्ने बताए।
‘अब कोर्स करेक्सनको समय आएको छ, हामी इन्डियन मान्छे नभई स्वतन्त्र हौं’, उनले थपे, ‘हामी आफ्नो आन्दोलन आफैं अगाडि बढाउन सक्षम छौं। अब हाम्रो सम्बन्ध साथीको स्तरमा हुनुपर्छ, कुनै एस म्यानको रुपमा होइन।’
संविधान जारी भएपछि मधेसमा चलेको आन्दोलनमा आधारित रहेर अधिवक्ता झाले पुस्तक लेखेका हुन्। राजनीतिक विश्लेषक सिके लाल, मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी, पत्रकारहरु सुबिना श्रेष्ठ र उज्ज्वल प्रसाईंले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।
कार्यक्रममा विश्लेषक लालले मधेसको माग सम्बोधनका लागि संविधान संशोधन हुनेमा आशंका व्यक्त गरे।
संविधान संशोधन पक्का हुन्छ। तर मधेसी, आदिवासी, जनजातिले खोजेको संशोधन हुन्छ वा हुँदैन, त्यसमा चाहिँ शंका छ’, उनले भने।
नयाँ संविधानले अन्तरिम संविधानले दिएका अधिकार समेत खोसेको दाबी गर्दै उनले राज्यले थोकमा अधिकार खोसेर खुद्रामा दिन खोजेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।