काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालय कीर्तिपुरको मूल गेटमा ताला लगाएको छ।
त्रिवि सेवा आयोगले अनियमितता गर्दै आफन्तहरुलाई सेवा प्रवेश गराएको आरोप लगाउँदै गत जेठ ६ गतेदेखि अखिल क्रान्तिकारी रिले अनसनमा बस्दै आएको छ।
'हामीले तीनवटा मागहरु अघि सारेका छौं', खिल क्रान्तिकारीका काठमाडौं संयोजक संघर्ष दाहालले भने, 'पछिल्लो पटक गरिएका नियुक्तिहरु खारेज, त्रिवि सेवा आयोग खारेज र नियुक्ति प्रक्रियामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्छ।'
पछिल्लो पटकको सेवा प्रवेश विवादमा परेको छ। अनियमिततापूर्वक पदाधिकारी, नेता र कर्मचारीका आफन्त भर्ना गरिएको र नेपाली कांग्रेस र सरकार नेतृत्वको नेकपाले ४०–६० को भागबण्डा लगाएर नियुक्ति गरेको क्रान्तिकारीको आरोप छ।
अनसन बसेको २९ दिन पुगिसक्दा समेत आफ्ना मागबारे बेवास्ता गरेकाले ताला लगाउन बाध्य हुनु परेको दाहालले नेपाल लाइभलाई जानकारी दिए।
आजबाट अखिल क्रान्तिकारीले सेवा आयोगका कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोक लगाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।