काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगरले लगातार चौथो खेलमा जित हात पार्ने क्रममा भैरहवा ग्लाडियटर्सलाई ३५ रनले पराजित गरेको हो।
अपराजित विराटनगर ८ अंकसहित लिगको शीर्ष स्थानमा छ भने यसअघि नै प्ले अफमा पुगिसकेको छ। लगातार २ खेलमा जित हात पारेको भैरहवा भने तेस्रो खेलमा पराजित हुन पुग्यो। भैरहवा ४ अंकसहित दोस्रो स्थानमा छ।
विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा १ सय १४ रनमा अलआउट भयो। भैरहवाका लागि ओपनर प्रदिप ऐरी र हरिशंकर १८–१८ रनको योगदान गरे। प्रदिपले १८ बलमा ४ चौका हिर्काए भने हरिशंकरले २१ बलमा १ चौका प्रहार गरे। पुनित विष्टले १५, आरिफ शेखले १० र कृष्ण कार्कीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
भैरहवाको इनिङ ध्वस्त पार्ने क्रममा विराटनगरका अभिनास कर्णले ४ विकेट लिए। बसन्त रेग्मीले ३ विकेट हात पारे। कप्तान पारस, सहान अदेशा र करण केसीले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १ सय ४६ रन जोड्यो। विराटनगरको लागि ओपनर अंशुमान राथले ५७ रन जोडे। उनले ५० बलमा ८ चौका हिर्काए। अर्का ओपनर आसिफ शेख १ रनमा आउट हुँदा बाबर हायतले ३६ रन बटुले। हरिशंकर साहबाट बोल्ड हुनुअघि उनले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान पारसले १५ रन जोडे भने प्रनित थापामगरले १४ रनको योगदान गरे। करण केसी ११ रनमा नटआउट रहे।
बलिङतर्फ भैरहवाका हरिशंकर शाहले ३ विकेट लिँदा आरिफ शेखले २ विकेट हात पारे।
तस्बिर : विराटनगर वारियर्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।