इन्दौर (एजेन्सी)– रोहित शर्माको कीर्तिमानी शतक र कुलदीप र चहलको खतरनाक बलिङको अगाडि श्रीलंकाले दोस्रो टी–२० मा पनि भारतसँग ८८ रनले घुँडा टेकेको छ।
शुक्रबार राति रोहितले टी–२० मा सबैभन्दा छिटो ३५ बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएपछि स्पिनरद्वय कुलदीप र चहलले आफ्नो हातको करामत देखाए।
रोहितको विस्फोटक ४३ बलमा १ सय १८ रन तथा केएल राहुलको ४९ बलमा ८९ रनको विस्फोटक ब्याटिङका कारण भारतले ५ विकेटको क्षतिमा २ सय ६० रन बनाएको थियो।रोहितले १० छक्का र १२ चौकाको सहयोगले विस्फोटक शतक बनाएका थिए। राहुलले ८ छक्का र ५ चौका हिर्काए। दुवैले पहिलो विकेटका लागि १२ दशमलव ४ ओभरमा १ सय ६५ रनको साझेदारी गरिसकेका थिए।
महेन्द्रसिंह धोनीले २८ र हार्दिक पाण्डेयाले १० रन बनाएका थिए।
प्रत्युत्तरमा यजुवेन्द्र चहलले ४ ओभरमा ४ तथा कुलदीप यादवले पनि ४ ओभरमा ३ विकेट झारेपछि श्रीलंका १७ दशमलव २ ओभरमा १ सय ७२ रन बनाएर खुम्चिएको थियो। दुवैले ५२ रन खर्चेका थिए। तर, विकेट झार्न सफल भएपछि श्रीलंकाले १६ बल खेल्नुअगाडि नै घुँडा टेकेको थियो।
श्रीलंकाको ब्याटिङमा कुशल परेराले ३७ बलमा सर्वाधिक ७७ उपुल थरङ्गाले २९ बलमा ४४ रनको योगदान गरेका थिए। डिकवेला २५ रनमा आउट भए। कुसलले आफ्नो इनिङमा ७ छक्का र ४ चौका प्रहार गरेका थिए। माथिल्लो क्रमका यी तीन ब्याट्सम्यान आउट भएपछि श्रीलंकाका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
तीन टी–२० को शृंखलामा भारतले २–० ले जितेको छ। खेलको म्यान अफ दी म्याच रोहित शर्मा घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।