काठमाडौं– १९८२ सालमा अध्ययनका लागि भारतको कोलकातास्थित वाइएमसिए स्कुलमा भर्ना हुँदा राणा शासनका कमान्डिङ कर्नेल हरिविक्रम शाहका कान्छा छोरा धीरविक्रमको उमेर थियो, १० वर्ष।
स्कुल भर्ना भएको केही वर्षभित्रै धीरविक्रम यति चर्चित भए कि उनको चर्चा स्कुलमा मात्र सीमित रहेन।
किशोर अवस्थामै उनले पूरै बंगालभरि ख्याति कमाउनुका दुई कारण थिए। पहिलो त उनको अनुहार नै आकर्षक थियो। त्यसमा पनि उनी खेलकुदका कारण चर्चित बने।
धीरविक्रमकी दिदी श्री ३ महाराज चन्द्रशमशेर राणाको कान्छी महारानी थिइन्। त्यसैले उनलाई सुरुदेखि नै कोलकातामा अध्ययन गर्न खासै अप्ठ्यारो परेन। त्यतिबेला भारतमा अंग्रेज शासन थियो। अंग्रेज र राणा शासकबीच सुखद सम्बन्ध थियो। नेपालीहरूको ठूलै इज्जत हुन्थ्यो, ब्रिटिस शासनभरि भारतमा।
त्यसैले पनि होला, १० वर्षको उमेरमा अध्ययनका लागि कोलकाता पुग्दा धीरविक्रमको स्थानीय अविभावक थिए, गोरा सिएस प्याटरसन।
उनकै निगरानीमा हुर्केका धीरविक्रमले १९९५ सालमा तहल्का मच्चाए, बंगालभरि। त्यतिबेला कोलकाताकै प्रेसिडेन्सी कलेजमा अध्ययनरत थिए, उनी। त्यो वर्ष बंगालमा भारतको राष्ट्रिय बास्केटबल च्याम्पियनसिप आयोजना भएको थियो। उनी कलेजबाट उत्कृष्ट प्रदर्शन गर्दै बंगालको राष्ट्रिय टोलीमा समावेश हुने पहिलो नेपाली थिए। टोलीमा पनि उनी मुख्य खेलाडी थिए। उनको उत्कृष्ट प्रदर्शनकै कारण बंगाल त्यो वर्ष राष्ट्रिय च्याम्पियन बन्न सफल भयो।
त्यतिबेला भारतमा बसेका कुनै पनि नेपाली आफ्नो नागरिकता परित्याग गरेर भारतीय नागरिकता लिन चाहँदैनथिए। त्यसको कारण थियो, भारतमा अंग्रेजहरूको शासन।
यो प्रदर्शनपछि उनलाई भारतको राष्ट्रिय टोलीमा समावेश हुने निम्तो आएको थियो। तर, यसका लागि उनले नागरिकता परित्याग गर्नुपर्ने थियो। धीरविक्रमले नागरिकता परित्याग गर्न चाहेनन्। उनीमात्र होइन, त्यतिबेला भारतमा बसेका कुनै पनि नेपाली आफ्नो नागरिकता परित्याग गरेर भारतीय नागरिकता लिन चाहँदैनथिए। त्यसको कारण थियो, भारतमा अंग्रेजहरूको शासन।
त्यतिबेला अंग्रेजहरूले भारतीयहरूलाई ‘काला’ भन्दै शोषण गर्थे। नेपालका राणा शासकहरूको सम्बन्ध अंग्रेजसँग सुमधुर भएका कारण भारतमा नेपालीको छुट्टै मान थियो।
‘त्यतिबेला भारतमा पढ्न बस्ने नेपाली राजाजस्तै थिए,’ नेपालका पूर्व क्रिकेट खेलाडी शक्ति राणा भन्छन्।
धीरविक्रमलाई अहिले पनि नेपाली बास्केटबलको सबैभन्दा पोख्त खेलाडी मानिन्छ। यद्यपि उनले नेपालमा त्यति बास्केटबल खेलेनन्।
नेपालमा उनी फुटबलमै रमे। उनी नेपालमा विशेषतः बैंकिङ क्षेत्रमा बढी चिनिन्छन्। पद्यशमशेर राणा प्रधानमन्त्री भएपछि धीरविक्रम नेपाल फर्किएका थिए। त्यसअघि उनी कोलकातामै पञ्जाव स्टेट बैंकको जागिरे थिए। उनलाई पद्यशमशेरले नेपाल बैंक लिमिटेडको डेपुटी म्यानेजर बन्ने प्रस्ताव अघि सारेपछि २००४ सालमा भारतमा बैंकको जागिर छोडेर उनी काठमाडौं फर्किएका थिए।
धीरविक्रम बास्केटबलका मात्र नभई क्रिकेट, फुटबल र मध्यदूरीका उत्कृष्ट धावक पनि थिए। उनले १९९४ सालमा कोलकाताको उत्कृष्ट कलेज मानिने प्रेसिडेन्सीमा भर्ना पाउनको मुख्य कारण थियो, खेलकुद। त्यतिबेला यो कलेजमा भर्ना पाउन कि पढाइमा अब्बल हुनुपथ्र्यो कि खेलमा। धीरविक्रम खेलका कारण यो कलेजमा भर्ना पाउन सफल भएका थिए।

बीचमा धीरविक्रम शाह
१९९३ सालमा कलेज भर्ना हुनुअघि बंगालमा आयोजना भएको दौड प्रतियोगिता उनका लागि अविस्मरणीय रह्यो। यो प्रतियोगितामा भाग लिँदा धीरविक्रम आफ्नो स्वर्गवासी बुवा हरिविक्रमको बरखी बारिरहेका थिए। उनलाई त्यति सन्चो पनि थिएन। त्यही पनि उनले दौडमा भाग लिने निर्णय गरे। उनी सेतो टोपी लगाएर दौडिएका थिए, त्यो प्रतियोगितामा। कोलकाताबाट प्रकाशित चर्चित स्टेट्सम्यान पत्रिकाले भोलिपल्ट आफ्नो अंकमा धीरविक्रमको यही फोटो छापेको थियो, जुन फोटोमा उनी सेतो टोपीमा दौडिएका थिए। धीरविक्रम ८ सय मिटर दौडमा कलेज च्याम्पियन थिए।
कोलकातामा अध्ययनरत रहँदा उनले स्थानीय स्पोर्टिङ क्लबबाट क्रिकेट खेले। उनी क्लबको प्रारम्भिक ब्याट्सम्यान थिए। मध्यगतिको दौडमा उत्कृष्ट भएका कारण ‘कभर’मा उनको फिल्डिङ जहिले उत्कृष्ट रहन्थ्यो। १९९५ सालतिरै स्पोर्टिङबाट क्रिकेट खेल्ने क्रममा उनको ब्याटिङ त्यति राम्रो हुन सकेन। त्यो क्लबको छनोट खेल पनि थियो। तर, उनले टोलीमा पर्न ‘बाउन्ड्री’तर्फ आइरहेको बल रोक्न आफ्नो खुट्टा नै थापिदिएका थिए।
धीरविक्रम १९९७ सालतिरै बैंकको ट्रेनिङ लिन मुम्बई लागेका थिए। त्यहाँ उनी फुटबलमा जमे। नेपाल फर्किएपछि उनले विशेषतः नरशमशेरले स्थापना गरेको नरेश–११ टोलीमा सम्मिलित भएर फुटबल खेले। राइट हाफका यी गँठिला खेलाडी २००४ सालमा सिंहदरबारमा आयोजना भएको अन–अफिसियल लिगमा मात्र होइन, २००८ सालमा नेपाल फुटबल संघले आयोजना गरेको रामजानकी कपमा पनि नरेश–११ टोलीमै समावेश थिए।
‘पछि उनले रेफ्रीको भूमिका पनि निर्वाह गरेका थिए,’ विद्या व्यायामका पुराना खेलाडी दिलेन्द्रवीर पाण्डे सम्झिन्छन्। २०१५ सालमा पहिलोपल्ट राष्ट्रिय खेलकुद परिषद् स्थापना हुँदा उनी सदस्यका रूपमा कमिटीमा थिए। पछि २०१७ सालमा उनलाई कोषाध्यक्ष नियुक्त गरिएको थियो। धीरविक्रमको निधन २०२७ सालमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।